१२ श्रावण २०८१, शनिबार

खानेपानी र सरसफाईको अवस्थाबारे सुनुवाई



टीकापुर । कैलालीको भजनीमा शनिबार खानेपानी र सरसफाइको अवस्थाबारे सार्वजनिक सुनुवाई भएको छ ।
कार्यक्रम सहभागीहरूले कैलालीमा धाराको शुद्ध खानेपानीको प्रयोगबारे सचेतना फैलाउनतर्फ ध्यान दिनुपर्ने बताए ।
सहभागीहरूले धाराको शुद्ध खानेपानीको प्रयोगबारे उपभोक्तालाई जानकार र जागरुक बनाउन नसक्दा धाराको पानी प्रयोग गर्ने उपभोक्ताको संख्यामा बृद्धि हुन नसकेको बताए ।
कार्यक्रममा सहभागी रामबाबु सिंह, मोतिसिंह विक, हिमादेवी विक लगायतले खानेपानी आपूर्तिमा अनियमिता भइराख्दा पनि सुधारका लागि सम्बन्धित निकाय उदासिन हुने गरेको गुनासो गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद काफ्लले कैलालीमा अहिलेसम्म एक लाख ५२ हजार घरधुरीका आठ लाख २९ हजार ६ सय जनाले आधारभूत खानेपानीको प्रयोग गरिहेको बताए ।
डिभिजन प्रमुख काफ्लेले जिल्लाका समथर भागमा १० वटा खानेपानी आयोजना सञ्चालनमा रहेको र यस आर्थिक वर्षमा सात वटा आयोजनाका लागि बजेट विनियोजन भएको बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष नेत्रप्रसाद खनाल, खानेपानी तथा सरसफाई उपभोक्ता समिति भजनीका अध्यक्ष भानु मल्ल, थापापुर खानेपानी तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद ज्ञवाली, पत्रकार योगेश रावल लगायतले खानेपानीबारे सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीको आयोजनामा भएको कार्यक्रमलाई सामुदायिक रेडियो टीकापुर एफएमले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार