११ श्रावण २०८१, शुक्रबार

सत्तीपुल पश्चिमको तटबन्ध भासियो



टीकापुर । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्तीघाट पुलको पश्चिमतर्फको तटबन्ध भासिएको छ । कर्णाली नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध थप भासिने क्रम बढेको छ ।
पुलको उत्तरतर्फको तटबन्ध भासिन थालेपछि साविक धनसिंहपुर गाविसका विभिन्न गाउँहरु जोखिममा रहेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । उनले सूर्यपुर, चौगुर्दी, बटनपुर, खक्रौला लगायतका गाउँहरु जोखिममा रहेको बताए ।
स्थानीयले पुल नजिकैको तटबन्ध भत्किन थालेपछि रोकथामको प्रयासका लागि वडा कार्यालयमा खबर गरेका थिए । वडाध्यक्ष ठकुल्लाले खबर गरेपछि तटबन्ध निर्माण गरेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख लगायतको टोलीले स्थलगत अध्ययन गरेको छ । आयोजना प्रमुख सौरभ बज्राचार्य लगायतको टोली स्थलगत अध्ययन पछि फर्किएको छ ।
टोलीमै संलग्न इन्जिनियर रमेश पाठकले कैलाली तर्फका बासिन्दाले डराउनु पर्ने अवस्था नरहेको बताए । उनले नदीमा पानीको बहाव बढेका कारण तटबन्ध भासिएको कुरा भने बताए ।
उनले नदीमा पानीको बहाव उच्च भएका कारण भासिएको ठाउँमा मर्मत गर्न नसकिने जानकारी दिए । आयोजनाले पुलको उत्तरतर्फको चार सय मिटरमा तटबन्ध गरेको थियो । उसले तटबन्धसँगैको लन्चर (नदीको बहावलाई बदल्न तेर्सो गरी निर्माण गरिएको तटबन्ध) छोटो बनाएका कारण समस्या भएको बताईएको छ ।
आयोजनाले नै निर्माण गरेको पुलको पूर्वतर्फको तटबन्ध समेत भासिएको छ । करिव एक सय मिटर तटबन्ध नदीमा भासिएको छ । नदीमा दुई फिट मात्रै पानीको सतह बढ्ने बित्तिकै तटबन्ध पूर्ण रुपमा भत्किने अवस्था छ । जसले गर्दा नदीले धार परिवर्तन गर्ने खतरा रहेको छ । नदी पश्चिम तर्फको तटबन्धमा ठोक्किएर पूर्वतर्फ मोडिएको छ । यसरी नदीले धार परिवर्तन गरे बर्दियातर्फ निकै ठूलो क्षति पुग्ने आशंका गरिएको छ ।
नदीले बर्दियाको राजापुर नगरपालिकाका घुम्ना, शंकरपुर, मुक्त कमैया शिविर, भिमापुर लगायतका गाउामा क्षति पुऱ्याउन सक्ने देखिन्छ । कैलाली तर्फको श्रीलंका टापुका गाउामा समेत नदीले क्षति पुऱ्याउने देखिन्छ ।
इन्जिनियर पाठकले पुलको पूर्वतर्फ भासिएको तटबन्ध मर्मतको काम भैरहेको बताए । उनले भासिएको ठाउामा थप तटबन्ध निर्माण गरेर नदीको बहावलाई रोक्ने काम भैरहेको जानकारी दिए ।
२०४० साल अघि नदी अहिले फर्किन खोजेको ठाउँ हुँदै बग्थ्यो । सो वर्ष आएको बाढीले धार परिवर्तन गरेपछि नदी कैलालीतर्फ मोडिएको थियो । नदीले साविक धनसिाहपुर गाविसका वडा नम्बर १, २, ८ र ९ का सयौं घर बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार