१२ श्रावण २०८१, शनिबार

हुलाकी राजमार्गमा दुर्घटना बढ्दो



धनगढी । केही समययता कैलालीको हुलाकी राजमार्गका विभिन्न खण्डमा सवारी दुर्घटनामा बृद्धि भएको पाइएको छ ।
धनगढीको क्याम्पसरोडदेखि साविक पवेरासम्मको ३० किलोमिटर कालोपत्रे सडकमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् ।
गत आठ गते कनरी सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको ज्यान गएको थियो । फूलबारीबाट धनगढी आइरहेको से १ ख ५२८ नम्बरको बसले से १ प ७८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको थियो ।
सो दुर्घटनामा गौरीगंगा नगरपालिका वडा नम्बर ११ का ३० वर्षीय दीपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय वीरबहादुर चौधरीको ज्यान गएको थियो । त्यस्तै, सोही दुर्घटनामा गम्भीर घाइते थापापुर, जनकपुरका आशिष चौधरीको उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
सो दुर्घटनाको एक साता नपुग्दै गत आइतबार भितरियामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस कैलालीका सदस्य ४५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार क्षमताभन्दा निकै बढी यात्रु राख्ने, तीब्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनामा बृद्धि आइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले हुलाकी सडकमा पनि सवारी दुर्घटनाका घटनामा बृद्धि आइरहेको बताए । उनले दुर्घटना न्यूनीकरणका लागि प्रयास भइरहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा ९९ वटा सवारी दुर्घटना भएको थियो । ती दुर्घटनामा ६७ जनाको ज्यान गएको थियो । दुर्घटनामा एक सय ११ जना गम्भीर घाइते भएका थिए भने ५७ जनालाई सामन्य चोटपटक लागेको थियो ।
कैलालीमा बढी मोटरसाईकल दुर्घटना हुने गरेको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा एक सय २७ मोटरसाइकल दुर्घटना भएका थिए ।
त्यस्तै, २४ वटा बस, २० वटा ट्याक्टर, १६ वटा ट्रक ट्यांकर तथा १० वटा जीप दुर्घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार