स्थानीय तहमा अझैं कर्मचारी पुगेनन्



धनगढी । स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि अझै सम्बन्धित कार्यालयका कर्मचारीहरू स्थानीय तहमा पुगेका छैनन् ।
विषयगत कार्यालयको मन्त्रालयले तत्काल आफना कर्मचारीलाई स्थानीय तहमा नखटाउन पत्र पठाएका कारण कैलाली जिल्लाका अधिकांस कार्यालयका कर्मचारीहरू स्थानीय तहमा काममा गएका छैनन् ।
कैलाली जिल्लामा कर्मचारी व्यवस्थापन समितिले बिहीबारसम्म १३ वटै स्थानीय तहमा ९१ कर्मचारी काममा खटाइसकेको जनाएको छ ।
कैलाली स्थानीय विकास अधिकारी एवं कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद विमलीका अनुसार अहिलेसम्म जिल्ला समन्वय समितिका २८, जिल्ला जनस्वास्थ्य कार्यालयका २७, महिला तथा बालबालिका कार्यालयका १८ र अन्य कार्यालयका १८ गरी कार्यालयले ९१ जना कर्मचारीलाई जिल्लाको ६ गाउँपालिका, ६ नगरपालिका र एक उपमहानगरपालिकामा खटाइएको बताए ।
कर्मचारी व्यवस्थापन समितिले असार ३१ गतेनै जिल्लाका १३ वटा तहमा ५८ कर्मचारी खटाईसकेको थियो भने बुधबार थप ३३ जना कर्मचारी खटाएको समितिका सदस्य सचिव विमलीले बताए ।
जिल्लाका १३ वटै तहबाट वडा सचिवको माग भइरहेको भए पनि कर्मचारी व्यवस्थापन समितिले व्यवस्थापन गर्न नसकेको उनले बताए । उनले विषयगत कार्यालयले अझै कर्मचारी पठाउन नमानेका कारण काम खटाउन समस्या भइरहेको बताए ।
संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेकोले सबै गाउँपालिका तथा नगरपालिकामा कर्मचारी खटाउनुपर्ने जिम्मा कर्मचारी व्यवस्थापन समितिलाई दिइएको छ तर, विषयगत कार्यालयहरूले मन्त्रालयको पत्रअनुसार काम गरिरहेको बताए ।
अहिले जिल्लाका १३ वटै तहमा कर्मचारी नजाँदा नगर परिषद्का लागि बनाउने योजनाहरू प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्