१ कार्तिक २०८१, बिहीबार

सूचनाको हकसम्बन्धी छलफल



धनगढी । नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा आइतबार धनगढीमा सूचनाको हक सम्बन्धी छलफल कार्यक्रम भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आम नागरिकलाई महानगरपालिकाका हरेक निर्णय तथा गतिविधिबारे सहज रूपमा सूचना प्रवाह गर्न १९ वटै वडामा फोकलपर्सनको व्यवस्था गर्ने बताए । ‘जनताका लागि काम गर्ने भनेर नै हामी चुनिएर आएका छौं’ मेयर वडले भने– ‘त्यसैले हामीले गरेका कुनै पनि निर्णय तथा कार्य लुकाउनु पर्ने कुनै कारण छैन ।’
कार्यक्रममा मेयर वडले केही दिनयता केही सञ्चार माध्यमबाट ठेला व्यावसायीलाई कर बृद्धि गरिएकोबारे लगातार गलत तथा भ्रामक समाचार प्रवाह भइरहेकोप्रति खिन्नता व्यक्त गरे ।
उनले भने– ‘मेयरले ठेला व्यावसायीलाई दोब्बर कर लगायो भन्ने आसयका भ्रामक र गलत समाचार प्रवाह भइरहेका छन् । तर, यो निर्णय २०७३ सालमा नै भएको थियो ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक कर्ण शाहले सूचनाको हक प्रयोग र अभ्यासबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा महासंघका पूर्व उपसभापति डिआर पन्त, राष्ट्रिय छापा सञ्जालका उपाध्यक्ष वीरेन्द्र रावल, वानका उपाध्यक्ष गोविन्द रोस्यारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।
महासंघका जिल्ला उपाध्यक्ष टंक कुुँवरले स्वागत गरेको कार्यक्रमको जिल्ला सचिव मीन ठकुरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार