१२ श्रावण २०८१, शनिबार

कैलालीमा नियमविपरित गिट्टीबालुवा उठाइँदै



धनगढी । कैलालीका केही नदीखोलामा नियमविपरित अहिले बालुवा तथा गिट्टी संकलन गर्ने कार्य जारी रहेको छ ।
सरकारले असार, साउन र भदौ महिनामा कैलालीका कुनै पनि नदीखोलाबाट बालुवा तथा गिट्टी संकलनमा रोक लगाएको छ । वातावरणीय क्षती रोक्न सरकारले यी तीन महिनाको अवधिमा नदी तथा खोलाबाट बालुवा तथा गिट्टी संकलन गर्न नपाइने नियम बनाएको छ ।

फाइल तस्बिर

तर, अहिले केही नदीखोलामा जेसिभी प्रयोग गरेर धमाधम बालुवा तथा गिट्टी उठाउने गरिएको पाइएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ भएर बग्ने डोडा नदीबाट केही दिनदेखि जेसिभी प्रयोग गरेर बालुवा र गिट्टी उठाउने गरिएको स्थानीयले बताए ।
लठुवा सामुदायिक वनभित्र पर्ने सो नदीबाट दैनिक ठूलो परिमाणमा बालुवा तथा गिट्टी संकलन गरी निकासी भइरहेको छ ।
कैलालीमा जिल्ला समन्वय समितिले हरेक वर्ष वातावरणीय प्रभाव मूल्यांकनमा उत्तीर्ण भएका नदी तथा खोलाबाट बालुवा, गिट्टी संकलनका लागि ठेक्कापट्टा दिने गरेको छ । ‘कुनै पनि खोलानदीबाट गिट्टी तथा वालुवा संकलन गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकनमा उत्तिर्ण हुनु जरुरी हुन्छ’ कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद बिमलीले भने– त्यसबाहेक कोहीकसैले पनि संकलन गर्नु गैरकानूनी हो ।
स्थानीयका अनुसार सो नदीमा केही दिनदेखि दुई वटा जेसिभी र दर्जनौ ट्याक्टरको प्रयोग गरी गिट्टी वालुवा संकलन र निकासी भइरहेको छ ।
ठेकदार हेम सापकोटाले घोडाघोडी नगरपालिकासंग भएको सम्झौताअनुसार नै ग्राभेलिङ गर्नका लागि नदीमा जेसिभी प्रयोग गरिएको बताए । उनले अर्को जेसिभी प्रेम चौधरीको रहेको बताए ।
लठुवा सामुदायिक बनका अध्यक्ष नवराज न्युरेले नदीबाट बालुवा तथा गिट्टी नउठाउन पटकपटक नगरपालिकासंग आग्रह गरिए पनि वेवास्ता गरिएको बताए ।
‘वर्षायाममा बनभित्रको नदीबाट यसरी मनोमानी ढंगबाट दिनहू ठूलो परिमाणमा बालुवा तथा गिट्टी उठाउँदा भूक्षय तथा कटानको खतरा बढेको छ’ उनले गिट्टीबालुवा उठाउनका लागि नगरपालिकाले सामुदायिक बनसंग कुनै समन्वय नगरेको बताए ।
कैलालीका जिल्ला वन अधिकृत राजेन्द्र केसीले वन ऐन २०४९ अनुसार सामुदायिक वनवाट गिट्टी तथा वालुवा उठाउने कार्य नै गैरकानूनी भएको बताए । ‘लठुवा सामूदायिक वनवाट गिट्टी वालुवा उठाउने कार्य तत्काल रोक्न पहल भएको छ’ उनले सो कार्य रोक्न सशस्त्र बन रक्षक समेत परिचालन गर्न सकिने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले साउन महिनामा कुनै पनि दी र खोलाबाट गिट्टी तथा वालुवा संकलनमा रोक लगाइएको बताए ।
‘साउन महिनाभित्र नदी तथा खोलाबाट गिट्टी तथा वालुवा उठाउन पाईदैन’ उनले सो कार्य रोक्न तथा नियम पालना भए नभएको बारे अनुगमन गरिने बताए । उनले नदीमा जेसिभी प्रयोग भएको पाइएमा कारबाही गरिने बताए ।
यसबारे घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार