११ श्रावण २०८१, शुक्रबार

शिक्षा क्षेत्रको संरचनाबारे अन्योल– शिक्षा अधिकारीहरू



धनगढी । प्रदेश नम्बर ७ का जिल्ला शिक्षा अधिकारीहरूले शिक्षा क्षेत्रको संरचना प्रष्ट हुननसकेकोले अन्योल कायमै रहेको गुनासो गरेका छन् ।
शिक्षा अधिकारीहरूले देश संघीय संरचना गए पनि कानुन, नीति र कार्यविधि नबनेकोले अबको शिक्षाको संरचना कस्तो हुने भन्ने अझै प्रष्ट हुननसेको बताए । उनीहरूले शिक्षाको संरचना, कर्मचारी समायोजन र सेवा सुविधा, स्थानीय सरकार र शिक्षा निकायबीचको अन्तरसम्बन्ध लगायतका पक्षमा अन्योल कायम रहेको बताए ।
शनिबार धनगढीमा क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलको आयोजनामा भएको जिल्ला शिक्षा कार्यालयको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा गोष्ठीमा अन्योलका कारण शिक्षा क्षेत्रमा केही प्रभाव समेत परेको चर्चा गरे ।
गोष्ठीको उद्घाटन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संविधानले व्यवस्था गरे अनुसार देश संघीय संरचनामा गए पनि विषयगत कार्यालयको संरचना र कर्मचारी समायोजनमा अन्योल रहदा कामकारबाहीमा प्रभाव परेको बताए ।
उनले शिक्षाको संरचना जस्तो भए पनि गुणस्तरीय र समावेशी शिक्षालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न शिक्षा अधिकारी तथा कर्मचारीहरुले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा युएनईएससिओका कन्ट्री डाईरेक्टर तपराज पन्तले शिक्षाको सवालमा स्थानीय निकायका जनप्रतिनिधिलाई जिम्मेवार बनाउन शिक्षा अधिकारीहरूले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । ‘विश्वका प्राय: मुलुकले अंगिकार गरेको शिक्षा नीति नेपालले पनि अँगालेको छ, तर आशातित उपलब्धी भएको छैन’ उनले शिक्षाको पहुँच र गुणस्तर सुधारका लागि अझै निकै मिहिनेत गर्नुपर्ने बताए ।
क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक लालजंग चौहानको अध्यक्षतामा भएको कार्यक्रममा उपनिर्देशक कृष्ण सिलवालले कार्यक्रमबारे जानकारी गराएका थिए ।
आज (आइतबार) सम्म सञ्चालन हुने उक्त कार्यक्रममा ७ नम्बर प्रदेशका नौ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुले आर्थिक वर्ष २०७३/७४ मा शिक्षा मन्त्रालय, शिक्षा विभागबाट आएका कार्यक्रम र जिल्ला शिक्षा कार्यालयका नियमित कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्ने छन् ।
कार्यक्रम सञ्चालन गर्दा आएका समस्या, समाधान र संघीय संरचनामा शिक्षाको संरचना कस्तो बनाउने भन्ने सुझाव सहित बृहत छलफल हुने छ । कार्यक्रमको सञ्चालन विष्णुदत्त भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार