१ कार्तिक २०८१, बिहीबार

हरेक वर्ष नयाँ योजना, तर कार्यान्वयन हुँदैनन्



धनगढी । नेपाल टेलिकमले बर्सेनि नयाँ योजना बनाउने गरे पनि कार्यान्वयनतर्फ चासो दिने गरिएको छैन । नेपाल टेलिकम वर्कस् युनियनको गुनासो छ– ‘टेलिकमले हरेक वर्ष गुणस्तर सुधारको लक्ष्यसहित राम्रा योजना बनाउने गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।’
शुक्रबार नेपाल टेलिकम वर्कस् युनियन क्षेत्रीय समिति, धनगढीको २६ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका पदाधिकारीहरूले टेलिकमका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कर्मचारी, कर्मचारी युनियन र व्यवस्थापन पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
‘नेपाल टेलिकमले राजधानीसहित पूर्वका केही जिल्लामा फोर जी सेवा लागू गरेको छ, तर अहिलेसम्म सोचे जस्तो ग्राहक बन्न सकेका छैनन्’ नेपाल टेलिकम वर्कस युनियनका केन्द्रीय कोषाध्यक्ष महेश्वर खड्काले भने– ‘अहिलेसम्म फोर जी प्रयोगकर्ताको संख्या १५ सय पनि पुग्न सकेको छैन ।’ उनले नेपाल टेलिकमले योजना त ल्याउने, तर प्रभावकारी किन भइरहेको छैन भन्नेमा गम्भीर समीक्षा जरुरी रहेको बताए ।
उनले थपे– ‘सबैले भन्छन्, नेपाल टेलिकम नाफामा छ । सेवाग्राहीहरू बढ्दै गएका छन्, तर दुई वर्षअघि हाम्रो नाफा जति थियो अहिले पनि त्यत्ति नै छ ।’ उनले टेलिकमका सेवा लिने ग्राहक ५० हजार हुँदा जति नै अहिले सवा एक करोड ग्राहक पुग्दा पनि उत्ति नै
नाफा रहेको बताए । ‘यसको समीक्षा हुन जरुरी छ’ उनले नेपाल टेलिकम शहर केन्द्रित भएको गुनासो गरे । भने– ‘अझै कतिपय दुर्गम क्षेत्रमा टेलिफोन सेवासम्म छैन, तर शहर बजारतिर फोर जी सेवा पुगिसकेको छ ।’
युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष धु्रवचन्द्र गौतमले अहिले नेपाल टेलिकमको एडिएसएल र ल्याण्डलाइन सेवामा कमी आइरहेको चर्चा गरे । उनले भने– ‘प्रविधिको विकाससंगै नेपाल टेलिकमले पनि आफ्नो सेवालाई परिवर्तन गर्दै गुणस्तरीय सेवा पुर्‍याउन जरुरी रहेको बताए । उनले अहिले पनि चाहेको बेला सम्पर्क नहुने, रिचार्ज नहुने, बेला–बेला नेटवर्क जाने लगायतका समस्या सेवाग्राहीहरूले भोग्नु परेको बताए ।
वार्षिकोत्सव कार्यक्रमको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक समारोहबीच उद्घाटन गरेका थिए । कार्यक्रम युनियनका क्षेत्रीय अध्यक्ष लोकेन्द्र पनेरूको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल टेलिकम अत्तरिया शाखाका निमित्त निर्देशक जगदिश लेखक, कर्मचारी ट्रेड युनियनका क्षेत्रीय अध्यक्ष दुर्गादत्त पाण्डे, नेपाल ट्ेरड युनियन काँग्रेसका जिल्ला अध्यक्ष रामबहादुर देउवा, यातायात मजदूर संघका केशवराज पन्त, नेपाल टेलिकम वर्कस् युनियनका क्षेत्रीय सचिव जगतप्रसाद शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार