११ श्रावण २०८१, शुक्रबार

किसानको हितमा योजना तयार गर्छौ– मेयर वड



धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) नृपबहादुर वडले व्यावसायिक कृषि तथा पशुपालनको प्रवद्र्धन र आम किसानको हितलाई ध्यानमा राखेर योजना तयार गरिन् बताएका छन् ।
‘अहिले पनि हाम्रा प्राय: किसानहरू व्यावसायिक हुनसकिरहेका छैनन्’ शुक्रबार जिल्ला पशुसेवा कार्यालय कैलालीको सार्वजनिक सुनुवाई कार्यक्रममा उपमहानगरपालिका प्रमुख वडले भने– ‘हामी नेपाललाई कृषिप्रधान राष्ट्र भन्छौं, तर अझै पनि किसानहरूले विभिन्न समस्या भोगिरहेका छन्’, उनले केही दिनमै कैलालीका सबै १३ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष बसेर कृषि तथा पशुपालन विकासको ठोस योजना तर्जुमा गरिने बताए ।
‘किसानले पशुपालन वा खेतीकिसानी गर्दा के–के समस्या भोगिरहेका छन् र त्यसलाई कसरी कम गर्ने भनेर हामी १३ वटै तहका जनप्रतिनिधिहरू बसेर अवस्थाको विश्लेषण गरी योजना बनाउने तयारीमा छौं’ उनले भने– ‘व्यावसायिक कृषि तथा पशुपालनमा संलग्न रहनु भएका किसानहरूले त्यसलाई निरन्तरता दिनुहोस्, हामी कमीकमजोरी सच्याउँदै जाने छौं ।’
उनले किसानहरूको सल्लाह र समन्वयबाट किसानका समस्या समाधान गरिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, कैलालीका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले विगतको तुलनामा कृषि र पशुपालन क्षेत्रमा प्रगति भइरहेको चर्चा गरे । ‘सरकारले अनुदानका कार्यक्रम लागु गरेपछि कृषि र पशुपालनमा सुधार भए पनि व्यावसायीक रूपमै भने अझै अघि बढ्न सकेको छैन’ कार्यक्रम अधिकृत ओझाले भने– ‘जबसम्म सरकारको कार्यक्रम हाम्रो हो र हामीले आफ्नै जिविकोपार्जनका लागि कृषि र पशुपालन गरेका हौं भन्ने किसानहरूले आत्मसात गर्दैनन् तबसम्म सरकारका कार्यक्रम प्रभावकारी हुँदैनन् ।’
कार्यक्रममा सहभागि किसानहरूले फार्म स्थापना भएको एक वर्षपछि मात्र पशु कार्यालयले सेवा सुविधा दिनुपर्ने, गाईगोरु किन्न सम्बन्धित ठाउँमा पशुसेवा कार्यालयले समन्वय गर्नुपर्ने, गाईगोरुका लागि चाहिने दानाका लागि अनुदान प्रदान गर्नुपर्ने सुझाव दिइका थिए ।
कार्यक्रम जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर वसन्तबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा उनले जिल्ला पशुसेवा कार्यालयबाट आर्थिक वर्ष २०७३/०७४ मा सञ्चालन भएका कार्यक्रमबारे जानकारी गराएका थिए । उनले पशुसेवा कार्यालयमा आएकोमा सात करोड ५८ लाख ६४ हजार कुल बजेटमध्ये २२ लाख १५ हजार रकम खर्च नभएको जानकारी दिए । कार्यालयको भारित प्रगति ८५ प्रतिशत र वित्तिय प्रगति ८४ प्रतिशत रहेको उनले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन पशु प्राविधिक पुष्प भारतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार