१२ श्रावण २०८१, शनिबार

जिम्मेवार मिडिया बन्न आग्रह



धनगढी । मिडियाले समुदायको भावना र आवश्यकताअनुसार भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा दोहोर्‍याइयो ।
नेपाल पत्रकार महासंघद्वारा शुक्रबार धनगढीमा आयोजित ‘नागरिकका नजरमा मिडिया’ विषयक् कार्यक्रममा सहभागीहरूले समाजप्रति जिम्मेवार भएर भूमिका निर्वाह गर्न सञ्चारकर्मी तथा सञ्चार गृहलाई आग्रह गरे ।
कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सत्यतथ्य समाचार प्रकाशन तथा प्रसारण गर्न संचारकर्मीलाई आग्रह गरे । उनले भने– ‘समाजप्रतिको जिम्मेवारी बहन गर्दै भूमिका निर्वाह गर्नुहोस् ।’
नेपाल वार एसोसियसनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्यायले मिडियाको दुरुपयोग हुने गरेको चर्चा गरे ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर सुरेश आचार्यले पाठकको चाहनाअनुसार मिडियाले मुद्दा उठान गर्न नसकेकाले मिडियाप्रति आम नागरिकको गुनासो रहेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका उपसभापति प्रकाश बम, माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश धामी र एमालेका जिल्ला सचिवालय सदस्य दीर्घराज जोशीले पनि कैलालीमा मिडिया स्वतन्त्र हुन नसकेको गुनासो गरे ।
काँग्रेस उपसभापति बमले भने– ‘राजनीतिक दल तथा अन्य व्यक्तिले मिडियालाई आफू अनुकुल प्रयोग गर्न खोज्छन तर त्यसमा मिडियाले आफै सचेत हुनुपर्छ ।’
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार