१२ श्रावण २०८१, शनिबार

सबैसंग हातेमालो गरेर अघि बढ्छौं– मेयर रावल



टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका नव निर्वाचित मेयर तपेन्द्रबहादुर रावलले टीकापुरको समृद्धिका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुरले बुधबार टीकापुरमा आयोजना गरेको नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा उनले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले टीकापुरको विकासका लागि आधारशिला खडा गरेको बताए ।
कार्यक्रममा बोल्दै टीकापुर नगरकी नव निर्वाचित उपमेयर तथा कार्यक्रमका विशिष्ट अतिथि केशरी विष्टले संस्थाले टीकापुर वासीलाई शुद्ध खानेपानी वितरण गरेर यहाँको जनताको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
कार्यक्रममा संस्थाका परामर्शदाता भोलाप्रसाद चौधरीले हालसम्म ८८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । २०७२ मंसिरबाट निर्माण सुरु भएको खानेपानी आयोजना २०७४ मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
आयोजना निर्धारित समयभित्रै सम्पन्न हुने लक्षण देखिएको छ । आयोजना अन्र्तगतका ४ वटा आकाशे ट्याङ्कीमध्ये २ वटा तयार भइसकेका छन् । थप दुईवटा ट्याङ्की निर्माणको काम तीब्र गतिमा भइरहेको टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नवराज रावलले बताए ।
संस्थाले आउदो मंसिर महिनाभित्र सबै उपभोक्ताको घरघरमा शुद्ध खानेपानी पुर्‍याउने जनाएको छ । संस्थाका अध्यक्ष नवराज रावलको अध्यक्षमा सम्पन्न कार्यक्रममा टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सल्लाहकार कृतिसिंह बम, टीकापुर बहुमुखी क्याम्पसका पूर्व प्रमुख जगतबहादुर सिंह रावल, नवराज आचार्य लगायतले मन्तव्य व्यक्त गरे ।
संस्थाका कोषाध्यक्ष गोपीराम जैशीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भैरव रावलले गरेका थिए ।
कार्यक्रमका अवसरमा टीकापुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार