१२ श्रावण २०८१, शनिबार

सत्रौं कमैया मुक्ति दिवस मनाइयो



धनगढी । कैलालीमा सोमबार १७ औं कमैया मुक्ति दिवस मनाइएको छ । मुक्त कमैयाको क्षेत्रमा क्रियाशील सात वटा संस्थाको संयुक्त आयोजनामा सो दिवस मनाइयो ।
सो अवसरमा मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले मुक्तिको १७ वर्ष भइसक्दा पनि अहिले पनि तीन सय ८१ मुक्त कमैया पुनस्र्थापनाबाट वञ्चित रहेको बताए ।
उनले १० धुर जग्गा दिएर न्यायिक पुनस्र्थापना हुननसक्ने बताए । उनले कम्तिमा एक कठ्ठा जमिन दिन माग गरे ।
मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक ईन्दु चौधरीले कैलालीमा परिचयपत्र प्राप्त आठ हजार नौ सय १० मुक्त कमैया परिवार रहेकामा सरकारले हालसम्म आठ हजार पाँच सय २९ परिवारलाई बसोबासको व्यवस्था गरेको बताइन् । उनले ६ सय मुक्तकमैया परिवारले लालपुर्जा पाए पनि बसोबासको व्यवस्था नभएको बताइन् ।
भूमिसुधार कार्यालय कैलालीको आर्थिक वर्ष ०७३/०७४ असार मसान्तसम्मको तथ्यांकअनुसार पाँच सय २९ परिवारलाई घर निर्माण र जग्गा खरिद, अनुदान वितरण गर्ने लक्ष्य रहेकोमा दुई सय १० जनाले अनुदान रकमबाट जग्गा खरिद गरेको उनले बताए । पुनस्र्थापनासंगै घर निर्माणको लागि अनुदानको व्यवस्था रहेकोमा एक सय ५० जनाले रकम पाएका छन् ।
मुक्त कमैया पुनस्र्थापना जिल्ला समन्वय समितिका संयोजक तथा स्थानीय विकास अधिकारी केशवप्रसाद विमली मुक्त कमैयाहरूको पुनस्र्थापनामा कानूनी जटिलता पनि रहेको बताए । स्थानीय विकास अधिकारी बिमलीले मुक्त कमैयाहरू वन तथा संघसंस्थाको जग्ग्गामा बसोबास गरिरहेकोले सोही स्थानमा लालपुर्जा दिएर पुनस्र्थापना गर्न सकिने बताए ।
भूमिसुधार कार्यालय कैलालीका प्रमुख लक्ष्मण कठायतले लक्ष्य अनुसार पुनस्र्थापना कार्य अघि बढ्न नसकेको बताए ।
दिवसका अवसरमा गौरीगंगा नगरपालिकामा निर्वाचित महिला सदस्य मुक्त कमैया मीना कठरिया, विसराम चौधरी, मनमति चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बजारीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष जीतबहादुर चौधरीले स्वागत गरेका थिए ।
कमैया प्रथा उन्मुलन समाज, मुक्त कमैया समाज, मुक्त कमैया महिला विकास, मुक्त कमैया बडघर सञ्जाल, थारू महिला उत्थान केन्द्र र मुक्त कमैया युवा जागरण समाजको संयुक्त आयोजनामा दिवस मनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार