१ कार्तिक २०८१, बिहीबार

युवा प्रतीभा तथा उद्यमीलाई पुरस्कृत गरियो



धनगढी । जिल्ला युवा समिति, कैलालीले जिल्लाका युवा प्रतीभा तथा उद्यमीहरूलाई पुरस्कृत गरेको छ । युवा प्रतीभा पहिचान तथा उनीहरूको कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा मौरीपालक उमाकुमारी खत्री, उसु खेलका प्रशिक्षक रतनबहादुर खाती र पर्यटन प्रवद्धक योगेन्द्र बमलाई जनही सात हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, शुक्रबार नै जिल्लास्तरीय युवा प्रतीभा पहिचान कार्यक्रम अन्तर्गत बृहत कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा विजयी तीर्थ भट्टलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
जिल्ला युवा समिति कैलालीका अध्यक्ष शम्भु कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रुमख जिल्ला अधिकारी रिजाल, कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्ट, जिल्ला कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन चन्द लगायत सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका महासचिव रूपेश स्वाँर, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँद, धनगढी जेसीजका अध्यक्ष टेकराज पनेरू लगायत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार