३० आश्विन २०८१, बुधबार

मतदाता नामावली संकलन हुँदै



काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि साउन १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगल बसेको आयोग बैठकले मतदाता नामावलीमा नाम दर्ताका लागि समय निर्धारण गर्दै सहभागीताका लागि बालिग नागरिकमा अनुरोध समेत गर्ने निर्णय गरेको हो ।
आयोगले आगामी असोज अन्तिम साता प्रदेश र कात्तिकमा प्रतिनिधिसभा निर्वाचनको तयारी गरेको बताउँदै आएको छ । गत बैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा नाम छुटेका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिएर स्थायी बसोबास भएको जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने आयोगले प्रष्ट पारेको छ ।
आयोगबाट प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका मतदाताले समेत त्यसलाई सच्चाउन सोही समयमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ । नाम दर्ता भएपछि श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था मिलाईएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार