४ जेष्ठ २०८१, शुक्रबार

पत्रकारहरूको क्षमता अभिबृद्धि तालिम समापन



धनगढी । कैलालीको धनगढीमा सञ्चालित स्थानीय सरकार तथा मिडिया, पत्रकार क्षमता अभिबृद्धि तालिम बिहीबार समापन भएको छ ।
जिल्ला समन्वय समिति, कैलालीको आर्थिक सहयोगमा सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको तालिममा जिल्लाका २६ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिम समापनका अवसरमा कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमली स्थानीय तहको संरचना तथा अभ्यास नयाँ भएकाले आमजनतालाई स्थानीय तहका विविध पक्षमा सुसूचित गर्न सञ्चार क्षेत्रले अहम् भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले भने– ‘स्थानीय तहको निर्वाचन भइसकेको छ । निर्वाचित जनप्रतिनिधि कार्यभार सम्हाल्न आइसक्नु भएको छ, तर अहिले आवश्यक ऐन कानून बनेका छैनन्, कार्यादेशका भरमा सञ्चालन गर्नुपर्ने अवस्था छ ।’
स्थानीय विकास अधिकारी बिमलीले ऐनकानूनको अभावमा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न निकै कठिनाई हुने तथा आम जनताका असिम आकांक्षाको परिपूर्तिमा पनि कठिनाई हुनेभएकोले जनता र जनप्रतिनिधिबीच विश्वासको वातावरण बनाइराख्न सञ्चार क्षेत्र तथा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।
कार्यक्रममा प्रशिक्षक धर्मेन्द्र झाले जनप्रतिनिधिलाई सधंै जनताप्रति उत्तरदायी बनाइराख्न तथा जनताका आकांक्षा र चाहनाको सम्बोधनका पक्षका साथै उत्तरदायी स्थानीय शासनको प्रवद्र्धनमा सञ्चारकर्मीले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
निर्वाचन अघि जनप्रतिनिधीले सर्वसाधारणलाई गरेका बाचा पुरा गराउन, स्थानीय तहलाई विकास तर्फ लग्न जनप्रतिनिधीलाई दबाब, जनचेतना र काम कर्तव्यबारे जानकारी गराउने मुख्य भूमिका सञ्चारकर्मीको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार