२९ आश्विन २०८१, मंगलवार

‘घर–कार्यालयबाट मात्रृभाषा संरक्षण हुन्छ’



धनगढी । घरमा बोल्न र कार्यालयहरुको कामकाजमा प्रयोग गरे आदिवासी जनजातिको मात्रृभाषा संरक्षण हुने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल तामाङ घेदुङ कैलालीले आयोजना गरेको तालीम ‘तामाङ भाषा संरक्षण सम्बन्धी अभिमुखीकरण तालीमको उद्घाटन सत्रका सहभागीहरुले बताएका हुन् । उनीहरुले घरमा सक्दो मात्रृभाषामै कुरा गर्ने र युवा तथा नवपुष्टाहरुलाई मात्रृभाषा सिकाउनुपर्ने बताए ।
समाजको परिवेश अनुसार नवपुष्टा र युवाहरुले बाहुसंख्यक जातिको भाषा सिक्ने र त्यही बढि प्रयोग गर्नाले अल्पसंख्यक जातिहरुको भाषा विलिन हुँदै गएको देखिन्छ । नेपालको मध्यक्षेत्रका पहाडी इलाकामा तामाङ जातिको भाषा गाउँघरमा सुन्न पाइएपनि कैलाली कञ्चनपुरमा रहेका तामाङ युवाहरुले आफ्नो मात्रृभाषा विर्सिदै गएको भेटिन्छ ।
आदिवासी जनजाति महासंघ कैलालीका अध्यक्ष तेज तारामीमगरले आफ्नो मात्रृभाषामा कुरा गर्न युवाहरुले लाज मान्न नहुने बताए । उनले सकेसम्म आफ्ना अन्यभाषी साथीहरुलाई आफ्नो मात्रृभाषा सिकाउनुपर्ने बताए । ‘घर घरमा आफ्नो मात्रृभाषा प्रयोग गर्ने हो भने सबै आदिवासी जनजातिको मात्रृभाषा संरक्षण हुन्छ,’ अध्यक्ष तारामीले भने, ‘बोलचालमा बढि प्रयोग गर्नुका साथै जुन जाति जुन वडामा बहुसंख्यक छन्, त्यस वडा कार्यालयमा बहुसंख्यक जातिको मात्रृभाषालाई सरकारी कामकाजको भाषा बनाउन सबैले पहल गर्नुपर्छ ।’
थारु कल्याणकारी सभाका पूर्ण सभापति प्रभातकुमार चौधरीले आदिवासी जनजातिहरुमा राजनीति चेतना हुन जरुरी रहेको बताए । उनले सबै आदिवासी जनजातिहरुले आदिवासी जनजाति उम्मेदवार जिताउन मतदान गर्नुपर्ने बताए । उनले सबै आदिवासी जनजातिले एक अर्काको मात्रृभाषालाई सम्मान गर्दै सबै मात्रृभाषाहरु संरक्षणका लागि जोड दिए ।
नेपाल तामाङ घेदुङका प्रदेश नं. ७ सचिव गंगा योञ्जनले तामाङ जातिहरु राजनीतिक रुपमा अगाडि आउन नसकेकाले भाषा समेत पछि पर्दै गएको बताए । उनले खसक्षेत्रीहरुको भाषा प्रयोग गर्ने तर आफ्नो मात्रृभाषा प्रयोग गर्न लाज मान्ने युवा जमातले गर्दा तामाङ भाषा पश्चिमका तामाङ समुदायमा विलिन हुने अवस्थामा रहेको टिप्पणी गरे ।
किराँत सेवा समाज कैलालीका सचिव अमृत राईले एक जातिको मात्रृभाषा संरक्षणको कुरा गर्दा अर्को जातिलाई पनि मात्रृभाषा संरक्षण गर्न उर्जा बढ्ने बताए । नेपाल तामाङ घेदुङका पूर्व सल्लाहकार नरबहादुर तामाङले स्कूलमा समेत तामाङ भाषामा पढाई हुन जारुरी रहेको बताए ।
नेपाल तामाङ घेदुङका प्रदेश नं. ७ संयोजक बौद्ध लामाले आदिवासी जनजातिहरुले जहिले पनि बोली भाषाले गर्दा अप्ठेरोमा पर्ने गरेको बताए । उनले नेपाली भाषा राम्रोसंग बोल्न नजानेर तामाङहरुले जेलमा समेत परेको उदाहरण सुनाउँदै प्रश्न गरे, ‘राज्यबाट सधै हेप्वाचेप्वामा परेका हामीले कहिले आफ्नो मात्रृभाषा संरक्षण गर्ने ?’
तालीममा जिल्लाभरीका तामाङ जातिका युवायुवति र बयस्कहरुको सहभागिता छ । सहभागीहरुलाई नेपाल तामाङ घेदुङका प्रदेश नं. ७ उपसंयोजक सुकविर लामाले तामाङ भाषाको इतिहास, हालको अवस्था, भविष्य र संरक्षणका उपायबारे सहजिकरण गरिरहेका छन् । घेदुङका जिल्ला अध्यक्ष केशव थिङतामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि मुकेश टेंर्रा, नेपाल मगर संघका नगर अध्यक्ष दौलतसिंह मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार