११ श्रावण २०८१, शुक्रबार

माओवादीले नेतृत्व लिएमा दश वर्षमा कायापलट– अध्यक्ष दाहाल



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले नेतृत्व लिएमा दश वर्षमा नेपालको आर्थिक विकासको कायापलट हुने दाबी गरेका छन् ।
‘माओवादीको दश महिने प्रधानमन्त्रीत्वकालमा देशलाई आर्थिक विकासतर्फ डोर्‍याउन धेरै काम भएका छन्’ शुक्रबार धनगढी उपमहानगरपालिका–१८, फुलबारीमा आयोजित चुनावी सभामा अध्यक्ष दाहालले भने– ‘हामीले दश वर्षसम्म काम गर्न पायौं भने नेपाल समृद्धिको शिखरमा पुग्ने छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नौ महिनाको अवधिमा अघिल्ला वर्षहरूभन्दा मुलुकको आर्थिक विकास दर निकै बढेको बताए । उनले भने– ‘विगतमा एक प्रतिशतमा रहेको आर्थिक वृद्धिदर हाम्रो नेतृत्वको सरकारको पालामा साढे सात प्रतिशत पुग्यौं ।’
पूर्वप्रधानमन्त्री दाहालले आफूले इमान्दारितापुर्वक काम गरेका कारण मुलुकको आर्थिक वृद्धिदर बृद्धि भएको, लोडसेडिङमुक्त भएको र राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिएको बताए ।
‘म प्रधानमन्त्री भएपछि विपक्षी दलहरूले दु्रतमार्ग भारतलाई हस्तान्तरण गर्छ, देशको राष्ट्रियता संकटमा पार्छ जस्ता आरोप लगाए’ उनले भने– ‘तर, मैले मेरो कामले विपक्षलाई राम्रो जवाफ दिएको छु ।’
उनले दुर्तमार्ग बनाउने जिम्मा नेपाली सेनालाई दिएको, चीनले लागू गरेको वान वेल्ट वान रोड नीतिअन्तर्गत रहेर चीनसंग सम्झौता गरेको चर्चा गरे ।
उनले नेकपा माओवादीका कारण नै देशमा स्थायी शान्ति, गणतन्त्र, धर्म निरपक्षेता, संविधान लगायतका महत्त्वपूर्ण काम पुरा भएको बताए ।
सभामा माओवादी केन्द्रका ७ नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य हरिराम चौधरी, पोलिटव्यूरो सदस्य टेकेन्द्र भट्ट, लालबहादुर सोडारी, जिल्ला प्रवक्ता रमेश धामी, केन्द्रीय सदस्य प्रकाश रावल, मेयरका उम्मेदवार रामसमझ राना, उपमेयरका उम्मेदवार शान्ति अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार