१२ श्रावण २०८१, शनिबार

स्थानीय तह निर्वाचन : काँग्रेसद्वारा कैलालीमा बहुमत ठाउँमा जित्ने दाबी



धनगढी । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति आउन छ दिन मात्रै बाँकी छ । विभिन्न राजनीतिक दलहरूले चुनावी प्रचारप्रसारलाई व्यापक बनाएका छन् । केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा डटेका छन् ।
हरेक राजनीतिक दल र उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न आ–आफ्ना कार्यक्रमसहित भोट माग्न व्यस्त रहेका छन् । हरेक दल आफूले बहुमत सीट जित्ने दाबी गरिरहेका छन् ।
यसैबीच, नेपाली कांग्रेस कैलालीले जिल्लाका अधिकांस स्थानीय तहमा विजयी हुने दाबी गरेको छ ।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका कैलाली सभापति नरनारायण शाह (मनु) ले अधिकांस स्थानीय तहमा काँग्रेसकाप्रति मतदातामा उत्साह बढ्दै गएको बताए ।
सभापति शाहले कैलालीका १३ वटा स्थानीय तहमध्ये ८ वटामा नेपाली कांग्रेस निकै अगाडी रहेको दाबी गरे । उनले भने– बाँकी पाँच तहमा काँग्रेसको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकसंग कडा प्रतिस्पर्धा रहेको छ ।
नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति शाहले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवार बनेका र तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी कारबाही गरिएको बताए ।
उनले पार्टीका कोही पनि साधारण वा क्रियाशील सदस्यले आधिकारिक उम्मेदवारका विरुद्ध प्रचारप्रसार गरेको र हराउने प्रयास गरेको पाइएमा तत्काल कारबाही गरिने चेनावनी दिए ।
उनले नेपाली काँग्रेसले स्थानीय सरकारलाई पूर्ण समावेशी चरित्रको बनाउन सोही अनुरुप सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, लिङ्गका व्यक्तिलाई उम्मेदवार बनाएको बताए ।
‘वास्तवमा काँग्रेसले हिमालदेखि तराईसम्म बसोबास गर्ने सम्पुर्ण नेपालीलाई राज्यसत्तामा प्रतिनिधित्व भएको अनुभूति दिन स्थानीय तहमा पूर्ण समावेशीताका आधारमा योग्य, इमान्दार तथा सक्षम व्यक्तिलाई उम्मेदवार बनाएको छ’ उनले प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिकाको मेयर पदमा नृप ओडलाई तथा घोडाघोडी नगरपालिकाको मेयरमा रीताकुमारी चौधरीलाई उम्मेदवार दिएको स्मरण गरे ।

सभापति देउवा आज जिल्ला भ्रमणमा आउँदै

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कैलाली लगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लाको भ्रमणका लागि आज (शुक्रबार) धनगढी आउने भएका छन् ।
नेपाली काँग्रेस कैलालीका अनुसार सभापति देउवाले धनगढीका विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काँग्रेसका कैलाली सभापति नरनारायण शाहका अनुसार शुक्रबार उपमहानगरपालिकाको क्याम्पसरोड तथा फूलबारीमा चुनावी सभा आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार