१ कार्तिक २०८१, बिहीबार

चुनावी गतिविधि : उपमहानगरपालिकाका विभिन्न वडामा चुनावी सभा



धनगढी । नेपाली काँग्रेसले बिहीबार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका दर्जन बढी ठाउँमा चुनावी सभा गरेको छ ।
बिहीबार नेपाली काँग्रेसले देवहरिया जोखरताल, मनेहरा, कैलालीगाउँ, फूलबारी लगायतका ठाउँमा चुनावी सभा गरेको जनाएको छ ।
विभिन्न वडा र स्थानमा भएका चुनावी सभामा कैलाली क्षेत्र नम्बर ६ का सांसद पुष्करनाथ ओझा, सांसद प्यारेलाल राना, नेता हिरादत्त भट्ट, महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिकाको प्रमुख पदका काँग्रेसका उम्मेदवार नृप वड र उपप्रमुखका उम्मेदवार सुशीला मिश्र भट्टले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सांसद ओझाले देशमा भएका हरेका परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व गरेकाले नेपाली जनताको विश्वास र भरोशा रहेको चर्चा गरे ।
कार्यक्रममा सांसद रानाले नेपाली काँग्रेस प्रत्येक जातजाति, भाषाभाषी, क्षेत्र, धर्म, सम्प्रदायको विश्वासशीलो पार्टी रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सचिव पूर्ण कुँवर, क्षेत्रीय सभापति हरिश खड्का, जिल्ला सदस्यद्वय नृप सुनार र केशवराज मिश्र, महिला नेतृ जीवन राना, नेविसंघका पूर्व उपाध्यक्ष क्षितिज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

घोडाघोडीमा सभा
कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार नेपाली काँग्रेसले बृहत चुनावी सभा गरेको छ ।
चुनावी सभामा नेपाली काँग्रेस नेतृ सांसद डाक्टर आरजु देउवाले नेपालमा नेपाली काँग्रेसकै नेतृत्वमा प्रजातन्त्र आएको, युद्धमा रहेका माओवादीलाई काँग्रेसले नै शान्ति प्रक्रियामा ल्याएको र संविधान सभाबाट जनताको संविधान जारी भएको चर्चा गरिन् ।
सांसद डाक्टर देउवाले संविधान कार्यान्वयन र राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउन स्थानीय तह, प्रदेश तथा केन्द्रीय संसदमा नेपाली काँग्रेसलाई विजयी गराउन जरुरी रहेको बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका सचेतक ईश्वरी न्यौपाने, सांसद बुद्धिसागर चौधरी, कैलाली जिल्ला सभापति नरनारायण (मनु), पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, पूर्व जिविस सभापति नारायण दत्त मिश्र, घोडाघोडी नगर संयोजक खम्वबहादुर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति खेम चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको क्षेत्रीय उपसभापति लक्ष्मण शाहीले सञ्चालन गरेका थिए ।

टीकापुमा घरदैलो
नेपाली काँंग्रेस टीकापुरले बिहीबार टीकापुर नगरपालिका वडा नम्बर २ मा घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलोका क्रममा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार जंगबहादुर साउँदले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकाससहितको समृद्ध नगरका रूपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।
उनले टीकापुर–सनकट्टी बाटो कालोपत्रे, कर्णाली नदीमा पक्की पुल, टीकापुर–सत्ती, टीकापुर–जोशीपुर–भजनी रुटमा नगर बस सेवा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।
मतदातासंगको घरदैलो कार्यक्रममा उपमेयर पदका उम्मेदवार केशरी बिष्टले कृषिको आधुनिकीरणका साथै कृषि उद्योग स्थापनामा अनुदानको व्यवस्था गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार