१ कार्तिक २०८१, बिहीबार

आचारसंहिता पालना गर्न खबरदारी



धनगढी । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको पालना गर्न नसकेको समाजसेवी तथा खबरदारी संस्थाहरूको निष्कर्ष रहेको छ ।
बुधबार संवाद समूह धनगढीद्वारा सरोकारवाला निकायसंग गरिएको अन्तरक्रियमा नागरिक संस्थाहरूले आचारसंहिता पालना गर्ने गराउनेतर्फ दलहरू सचेत हुन आग्रह गरे ।
कार्यक्रममा ईन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशीले चुनाव प्रचारप्रसारमा के गर्नु हुन्छ र के गर्न हुँदैन ? भन्नेबारे सबै राजनीतिक दलका उम्मेदवारहरूलाई जानकारी भए पनि त्यसको व्यवस्था गर्दै आचारसंहिता विपरितका क्रियाकलापहरू गर्ने गरेको आरोप लगाएका थिए ।
उनले निर्वाचनका बेला सरकारले पर्यवेक्षक खटाउने, तर उनीहरूले दिएका सुझावलाई कहिल्यै कार्यान्वयनमा नल्याएको समेत गुनासो गरे ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत प्रेमराज भट्टले आसन्न स्थानीय तहको निर्वाचनमा कर्मचारीले सवै दलका पछाडि परेर आचारसंहिताको पाठ पढाउन नसक्ने बताएका थिए ।
उनले दलहरू आफै सचेत भएमा मात्रै आचारसंहिताको कार्यान्वयन हुने बताए । निर्वाचन आचारसंहिताको उलंघन गरेको खबर आएमा आवश्यक कारवाही गरिने बताए ।
तर, दलहरूले भने निर्वाचन आचारसंहिता पालनाबारे उम्मेदवार तथा कार्यकर्ताहरूलाई जानकारी गराइएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सदस्य नृप सुनारले पार्टी आचारसंहिता पूर्ण पालनाका लागि प्रतिवद्ध रहेको बताए ।
नेकपा एमालेमा दीर्घ जोशीले पनि जिल्लाका सवै उम्मेदवारहरूलाई आचारसंहिताभित्र रहेर चुनावी गतिविधि गर्न निर्देशन दिइसकेको बताए ।
कार्यक्रममा संवाद समितिका सदस्य प्रभातकुमार चौधरीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए । कार्यक्रम संवाद समिति धनगढी संयोजक कर्ण शाहले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार