११ श्रावण २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो



धनगढी । तेस्रो अन्तर्राष्ट्रिय योग दिवस बुधबार विभिन्न कार्यक्रमसहित धनगढी सहित कैलालीका विभिन्न स्थानमा मनाइएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल–भारत मैत्रीपूर्ण संघ, कैलालीले धनगढीको नैनादेवी मन्दिरमा योग शिविर गरेको छ ।
संघका अध्यक्ष हरिशंकर ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा योगगुरु कुलबहादुर हमालले योगाभ्यास गराएका थिए ।
संघका निवर्तमान उपाध्यक्ष गजबहादुर बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य रतन खातीले गरेका थिए ।
त्यस्तै, टीकापुरमा पनि योग दिवस मनाइएको छ ।
पतञ्जली योग नगर समिति टीकापुरका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति कैलालीका अध्यक्ष देवबहादुर मल्ल, टीकापुर योगाश्रमका संस्थापक पृथ्वीराज रावल, मुक्तिनाथ रेग्मी, छविलाल जैशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा योग प्रशिक्षक दीर्घराज गिरीले अन्तर्राष्ट्रिय योग दिवसको प्रोटोकल अनुसार योगाभ्यास गराएका थिए । त्यस्तै, पतञ्जली योग समिति कैलालीका स्वाध्याय प्रभारी टीकाराम आर्यले अन्तर्राष्ट्रिय योग दिवसको प्रोटोकलका केही सूत्र बाचन गरेका थिए । त्यस्तै, पुष्कर खड्का, सुनिल थापा, शालिग्राम शर्मा लगायतको भजन टोलीले भजन प्रस्तुत गरेका थिए ।
४ जना सम्मानित
योग विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै कार्यक्रममा चार जनालाई कदर पत्र सहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा टीकापुर योगाश्रमका संस्थापक पृथ्वीराज रावल, पतञ्जली योग नगर समितिका टीकापुरका पूर्व अध्यक्षहरू तीर्थ वम, दीर्घराज गिरी र मुक्तिनाथ रेग्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार