१ कार्तिक २०८१, बिहीबार

स्थानीय तह निर्वाचन : जनतामाझ उम्मेदवारहरू, भन्छन्– समृद्ध शहर बनाउँछौं



धनगढी । स्थानीय तह निर्वाचन आउन आठ दिनमात्र बाँकी रहेको छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू आफ्ना एजेन्डा जनतामाझ प्रस्तुत गर्दै आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न हरसम्भव प्रयास गरिरहेका छन् ।
दिनहुँ सबेरै बिहानदेखि अबेर साँझसम्म विभिन्न दलका उम्मेदवारहरू जनताको घरदैलोमा पुग्ने, कोणससभा तथा भेलामा व्यस्त रहने गरेका छन् । आफ्नो पार्टी तथा आफ्ना भावी कार्यक्रम र एजेन्डाहरूसहित मत मागिरहेका उम्मेदवारहरूलाई यतिवेला भ्याइनभ्याई भइरहेको छ । अर्कोको भन्दा आकर्षक नारा र एजेन्डा दिन होडबाजी गरिरहेका उम्मेदवारहरूलाई मतदाताले पनि उत्तिकै सवाल गरिरहेका छन् ।
चुनावी प्रचारप्रसारमा व्यस्त रहेकै बेला मंगलबार धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरू धनगढी जेसिजले आयोजना गरेको ककस कार्यक्रममा जनतासंग प्रत्यक्ष साक्षात्कारका लागि आइपुगेका थिए ।
उपमहानगरपालिकाका प्रमुख पदका प्राय: सबै उम्मेदवारहरूले समृद्ध र व्यवस्थित शहरको कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नृपबहादुर वडले भने– ‘काँग्रेसले पाँच वर्षभित्र धनगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने छ ।’
‘हामी एक वर्षभित्र गुरुयोजना बनाएर त्यसपछिका चार वर्षभित्र धनगढीलाई स्वच्छ, सुन्दर र समृद्ध शहरका रूपमा विकास गर्नेछौ’ उनले भने– ‘उपमहानगरबासीको दु:खसुखमा सधैं साथमा रहने म र नेपाली काँग्रेसले तपाईंहरूको चाहना, आवश्यकता र माग अनुसार नै काम गर्ने छ ।’
उनले नेपाली काँग्रेसको पहल र प्रयासमा नै मोहना नदीको चार ठाउँमा तटबन्ध निर्माण भइरहेको, अत्तरिया–मोहना ६ लेनको सडकको निर्माण कार्य शुरु भइसकेको, विभिन्न सडक विस्तार लगायतका कामहरू अघि बढिसकेको चर्चा गरे ।
उनले नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको समुन्नत विकासका लागि विस्तृत योजनासहितको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेको बताए ।
आफू नगर विकास समितिको अध्यक्ष हुँदा पाँच वटा वडामा पर्ति जमिनमा बसोबास गरिरहेकाहरूलाई लालपुर्जा वितरण गरेको बताए ।
‘म सधैं जनताको माझमा रहेर सेवा गरिरहेको छु’ उनले आफूले सधैं इमान्दारीपूर्वक जनताको आवश्यकताअनुसार काम गरेको चर्चा गरे ।
कार्यक्रममा एमालेका तर्फबाट उपमहानगरपालिका प्रमुखका उम्मेदवार, दुर्गाप्रसाद जोशीले धनगढीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउन पहल गर्ने बताए ।
त्यस्तै, १५ वर्षीय गुरुयोजना बनाएर अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, चक्रपथ निर्माण, ढल विकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी शहर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले धनगढीलाई लोडसेडिङमुक्त बनाउने, विशेष आर्थिक एवं औद्योगिक क्षेत्र स्थापना, युवाहरूलाई स्वदेशमा नै रोजगारी दिन प्रयास गर्ने बताए ।
‘धनगढीलाई प्राविधिक शिक्षाको केन्ऽको रूपमा विकास गरिने छ’ उनले प्रत्येक वडामा सीपमूलक कार्यक्रमलाई आफूले प्राथमिकतामा राखेको बताए ।
राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार बिष्णु साहूले धनगढी नगरलाई व्यवस्थापन गर्ने प्रमुख एजेण्डा रहेको बताए ।
उनले हिन्दू धर्मको रक्षाका लागि योजना लागू गर्ने, हरेक वडामा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारको विकास गर्ने बताए ।
फोरम लोकतान्त्रिकका प्रमुख पदका उम्मेदवार प्रेम विसीले धनगढी उपमहानगरपालिकालाई स्वच्छ र सुन्दर बनाउने प्रमुख एजेण्डा रहेको बताए ।
उनले धनगढीलाई खुला दिसामुक्त बनाउने, ग्रिनपार्क बनाउने, बेरोजगार युवाका लागि रोजगार प्रदान गर्न सीपमूलक तालिमको व्यवस्था गर्ने बताए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार गोपाल हमालले पाँच वर्षभित्र प्रत्येक नागरिकको आम्दानी दोब्बर दरले बृद्धि गर्ने, धनगढीलाई भ्रष्टाचारमुक्त गर्न सून्य सहनशिलताको नीति कडाईका साथ लागू गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार