१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय भावधाराको विस्तार काँग्रेसको प्रमुख एजेन्डा– लेखक



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको स्वीकार्यता विस्तार र कार्यान्वयन काँग्रेसको अहिलको प्रमुख एजेन्डा भएको बताएका छन् । उनले काँग्रेसले त्यसका लागि हरसम्भव प्रयास र पहल गरिरहेको बताए ।
‘काँग्रेसले अहिले प्रमुख रूपमा दुई एजेन्डालाई पुरा गर्नेतर्फ सबै प्रयास र पहल गरिरहेको छ’ शनिबार नेपाल प्रेस युनियन, कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले भने– ‘यतिवेला संविधानको स्वीकार्यता विस्तार गरेर नेपाल हिमालदेखि तराईसम्मका सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदायको साझा मुलुक हो भन्ने राष्ट्रिय भावधाराको विस्तार नै काँग्रेसको मुख्य एजेन्डा हो ।’
उनले यसका साथै संविधानको पूर्ण कार्यान्वयनका लागि तदनुरूपका संरचनाको निर्माण अर्को मुख्य एजेन्डा भएको चर्चा गरे ।
नेता लेखकले काँग्रेस जित्दा राष्ट्र, जनता र राष्ट्रिय एजेन्डाको जीत हुने गरेको दाबी गरे । ‘इतिहास साक्षी छ, काँग्रेस जितेपछि नै मुलुकमा लोकतन्त्रको जीत भयो, संविधान सभाबाट संविधान जारी भयो’ उनले काँग्रेस मुलुकलाई जोड्नेतर्फ सधैं प्रयत्नशील रहेको बताए ।
पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य लेखकले थुपै्र कठिनाई र चुनौति भए पनि प्रदेश नम्बर ७ मा आर्थिक समृद्धिको प्रचूर सम्भावना रहेको चर्चा गरे । ‘सेती लोकमार्ग भारत र चीनलाई जोड्ने नेपालको सबैभन्दा छोटो रणनीतिक मार्ग हो’ उनले महाकालीमा चार लेनको बाटोसहितको पुल, छ लेनको अत्तरिया–मोहना सडक, धनगढी–खुटिया–दिपायल द्रुतमार्ग, हुलाकी सडक आदि निर्माणाधीन सडक पुरा भएपछि प्रदेश नम्बर ७ को तीब्र आर्थिक समृद्धि सम्भव हुने बताए ।

प्रदेशस्तरीय मिडिया सेन्टर स्थापना
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई दृष्टिगत गरी धनगढीमा प्रदेश नम्बर ७ स्तरीय मिडिया सेन्टर स्थापना गरेको छ ।
शनिबार धनगढीमा एक समारोहबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मिडिया सेन्टरको उद्घाटन गरे ।
‘पार्टीका पक्षमा व्यवस्थित ढंगले प्रचारप्रसारमा सहयोग पुर्‍याउन यो सेन्टरको स्थापना गरिएको छ’ सो अवसरमा केन्द्रीय सदस्य लेखकले विपक्षले ‘झुठो कुरालाई सय पटक भट्टयाएर साँचो बनाउन खोज्ने प्रचारशैली’ लाई निरस्त पार्न मिडिया सेन्टरले प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले काँग्रेसले समावेशी राज्य र शासन व्यवस्था निर्माणको आधारका रूपमा स्थानीय निर्वाचनमा समावेशीताका आधारमा उम्मेदवार चयन गरेको बताए । ‘सुदूरपश्चिममा चर्को जातीय छुवाछूत र सामाजिक विभेद कायमै छ भन्ने सबैतिर छाप पारिएको अवस्थामा काँग्रेसले धनगढी उपमहानगरपालिकामा दलित समुदायका नेतालाई मेयरको उम्मेदवार बनाएको छ’ उनले भने– ‘यो धनगढी, सुदूरपश्चिम र समग्र मुलुककै लागि गौरबको विषय हो ।’
कार्यक्रममा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले टिकट वितरणमा दुईचार ठाउँमा देखिएका सामान्य विवादलाई पनि बढाईचढाई सम्प्रेषण हुने गरेको बताए । ‘हामीले कैलालीमा पाँच सय ५६ उम्मेदवार बनाएका छौं’ उनले भने– ‘छ सय ५० ठाउँमा कुनै विवाद छैन, पाँचछ ठाउँमा सामान्य विवाद छ, तर त्यसैलाई तिलको पहाड बनाएर प्रस्तुत गर्ने दुस्प्रयास भइरहेको छ ।’
कार्यक्रम काँग्रेसका जिल्ला प्रचार शाखा संयोजक नवराज रावललको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा काँग्रेस नेता नारायणदत्त मिश्र, नेपाल प्रेस युनियनका महासचिव अजयबावु सिवाकोटी, मेयर पदका उम्मेदवार नृप वड, उपमेयरका उम्मेदवार सुशीला मिश्र भट्ट, प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउँद, पत्रकारहरू मनमोहन स्वाँर, उमीदप्रसाद बागचन्द, कर्ण शाह, वसन्त बिष्ट, मीन बम, चक्र महता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रेस युनियनका कैलाली अध्यक्ष टेकराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार