११ श्रावण २०८१, शुक्रबार

उम्मेदवारी दर्ता असार ४ गते



धनगढी । स्थानीय तह निर्वाचनको अन्तर्गत शुक्रबार असार २ गते हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता दुई दिन सारिएको छ । अब असार ४ गते मनोनयन दर्ता हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका नायव सुब्बा सत्यराज पडालका अनुसार शुक्रबार मनोनयन हुँदैन अब असार ४ गते आइतबार मात्र मनोनयन हुन्छ ।
मधेसी दल राजपा चुनावमा आउने अपेक्षा गर्दे सरकारको आग्रहमा निर्वाचन आयोगले मनोनयनको मिति सारेको बताइएको छ । बिहीबार नै सरकारले प्रदेश नम्वर १, ५ र ७ मा असार १४ गते र प्रदेश नम्वर २ मा असोज २ गते चुनाव गर्ने निर्णय पनि गरको छ ।
चुनाव बिथोल्न राजपाले आन्दोलनका कार्यक्रम ल्याएपछि सरकारले २ नम्बर प्रदेशको चुनाव सारेको हो । यद्यपि सरकारको निर्णयमा निर्वाचन आयोगले असहमति राखेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारको निर्णयलाई विखण्डनकारी तत्वको मनोवल बढाउने कदम भनेको छ । यो निर्णयले मुलुकको एकतालाई कमजोर बनाउने प्रयास गरेको छ एमालेका केन्द्रीय कमिटी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मतदानद्वारा स्थानीय सरकारको अभ्यास गर्न पाउने जनताको अधिकारलाई कुण्ठित गरिएको छ विज्ञप्तिमा भनिएको छ ।
राजपाका नेताहरूले पनि २ नम्बर प्रदेशको चुनावको मिति सारिएकोमा बिरोध गरेका छन् । यो देश टुक्राउने खेल हो सर्लाहीमा आयोजित कार्यक्रममा उनीहरूले भनेका छन् तराई मधेसमा एकैपटक आन्दोलन उठेको हो, एकैपटक चुनाव हुनुपर्छ , त्यसैले हाम्रो आन्दोलन जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार