१२ श्रावण २०८१, शनिबार

अब चुनाव सार्न मिल्दैन– एमाले नेता रावल



सहजपुर । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष भीम रावलले अब फेरि चुनाव सार्न नमिल्ने बताएका छन् ।
बुधबार कैलालीको चुरे गाउँपालिकामा एमालेले अयोजना गरेको कार्यक्रममा उनले बैशाख ३१ बाट चुनावको मिति जेठ ३१, असार ९ हुँदै मध्यअसारमा ल्याइएको चर्चा गरे । ‘यो (१४ गते) चुनावका लागि गलत समय भए पनि अब चुनाव हुनैपर्छ’ नेता रावलले भने– ‘अब जे भए पनि लोकतन्त्र र शान्तिका लागि सबै नेपाली जनता चुनावमा आउनैपर्छ ।’
एमालेको सरकारले सुदूरपश्चिमको ४० प्रतिशत गरिबी हटाउन पश्चिम सेती, मध्यपहाडी लोकमार्ग, जडीवुटी र औषधी प्रशोधन केन्द्र, चीन र भारत जोड्ने सडक, औद्योगिक क्षेत्र, रानी जमरा कुलरिया सिंचाईं आयोजना बनाउने प्रयास गरेको दाबी गरे । एमालेका चुरे गाउँपालिका कमिटीका संयोजक लोकबहादुर सारुमगरको अध्यक्षतामा भएको कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, जिल्ला अध्यक्ष दीर्घ सोडारी, राजेश भण्डारी, ऋषि विनाडी, गाउँपालिकाकाका अध्यक्षका उम्मेदवार धनबहादुर रोक्कामगर, उपाध्यक्षका उम्मेदवार दीपा साउँद लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार