१२ श्रावण २०८१, शनिबार

राजपाले निहुमात्रै खोजिरहेको छ– एमाले नेता रावल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राष्ट्रिय जनता पार्टी (राजपा) ले एकपछिअर्को गर्दै निहुँमात्रै खोजिरहेको आरोप लगाएका छन् । नेता रावलले राजपालाई मात्रै पर्खेर बस्दा जनताले दु:ख पाउने बताए ।
उनले राजपाका नेताहरूले कहिले संविधान संशोधनको अत्तो थाप्ने, कहिले स्थानीय तहको संख्या थप्न माग राख्ने गरेर एकपछि अर्को निहुमात्रै खोज्ने काम भइरहेको आरोप लगाए ।
बुधबार एमाले धनगढी उपमहानगरपालिका कमिटीले गरेको एक कार्यक्रममा उनले ‘चुनाव रोकेर जनताका हकअधिकार कुण्ठित पार्ने र स्वाभिमान धरापमा पार्ने कार्यलाई एमालेले नसहने’ बताए ।
उपाध्यक्ष रावलले ‘राजपाका नेताहरूले छिमेकी राष्ट्रका दुतावासमा गएर चुनाव लडौ कि नलडौ’ भनेर सोध्ने गरेको दाबी गरे । ‘हरेक पटक सरकार बनाउँदा संसदमा मतदान गर्ने, भत्ता खाने, तर तराई मधेशका जनतालाई आफ्ना प्रतिनिधि छान्न नदिने ? राजपाप्रति लक्षित गर्दै उनको प्रश्न थियो ।
उनले उनले माओवादी केन्द्र नेपाली काँग्रेसमा विलय भए झैं लागेको व्यांग्य गरेर ।
टीकापुर घटनामा एमालेलाई दोष दिने ठाउँ नरहेको बताए । ‘टीकापुर घटनामा घर जले, मन जले, १९ महिनाका बालक मारिए, सुरक्षाकर्मी मारिए । सम्पत्ति जलेकाले क्षतिपूर्ति पाउनुपर्छ, हत्या भएका परिवारका सदस्यले सहयोग पाउनुपर्छ, निर्दोषहरू छुटनुपर्छ, दोषिलाई कारवाही हुनुपर्छ भनेकै छौं’ उनले टीकापुर घटनामा पक्राउ परेकालाई एमालेले छाड्ने प्रयास गरेको दाबी गरे । ‘छोड्ने प्रयास गरेका थियौं, तर सकेनौ’ उनले भने ।
कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी, एमालेमा प्रवेश गरेका माओवादीका केन्द्रीय सदस्य ऋषिराज बिनाडी, राप्रपाबाट प्रवेश गरेका राजेश भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिनाडी, प्रेमराज भट्ट, राप्रपाका विनोद बोहरा, सन्तोष ठकुल्ला, रूपबहादुर खाती लगायतले एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार