१२ श्रावण २०८१, शनिबार

छात्राहरू बेहोस हुन थालेपछि…



सुखड । कैलालीको घोडाघोडी नगरपालिका–४, रामपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरू बेहोस हुन थालेपछि पठनपाठनमा समस्या आउन थालेको छ ।
पछिल्ला पाँच महिनादेखि पटकपटक विद्यालयमा छात्राहरू एकाएक बेहोस हुने गरेका कारण पठनपाठन नै बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक नवलबहादुर रावतले बताए । उनले दैनिक छसात जना छात्रा बेहोस हुने गरेको बताए ।
विद्यार्थीहरू किन एकाएक बेहोस हुन्छन् भन्ने एकिन हुनसकेको छैन । छात्राहरू विद्यालयमा पुग्दासाथ एक्कासी कराउने, रुने र बेहोस हुने गरेको प्रत्यक्षदर्शीले बताए । छात्राहरू बेहोस हुने समस्या बढ्न थालेपछि भोली (मंगलबार) र बुधबार सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक रावतले बताए ।
छात्राहरूमा समस्या देखिएपछि सोमबार उपचारका लागि रामशिखरझाला उपस्वास्थ्य चौकीका ईञ्चार्ज वसन्त चौधरी र सहायक ईञ्चार्ज ईश्वरबहादुर चन्द विद्यालय पुगेका थिए । स्वास्थ्य चौकी ईञ्चार्ज चौधरीले छात्राहरूमा मास हिस्टिरियाको समस्या रहेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार