११ श्रावण २०८१, शुक्रबार

काँग्रेस नेता चौधरीको अन्त्येष्टी



टीकापुर । बुधबार भएको बस दुर्घटनामा निधन भएका नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको बिहीबार अन्त्येष्टी गरिएको छ ।
चौधरीको हिन्दू परम्परा अनुसार कर्णाली नदी किनारामा अन्त्येष्टि गरिएको थियो । त्यसअघि उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
चौधरीको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता चन्द्रसिंह भट्टराई, पूर्व सांसद गंगाबहादुर कुंवर, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, जिल्ला सदस्य नवराज रावल लगायतले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
चौधरीको अन्त्यष्टीमा कर्णाली नदीमा हजारौंको संख्यामा काँंग्रेसी नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
टीकापुर नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय चौधरीका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।
बुधबार टीकापुरबाट नेपालगञ्ज जाँंदै गरेको ना ५ ख ५३० नम्बरको बस जानकी गाउँंपालिका–५, पथरैयामा दुर्घटना भएको थियो ।
स्वर्गीय चौधरी थारू कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष पनि थिए । उनी टीकापुरस्थित करुणा बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल र टीकापुर जेसिज वर्ष २०१७ का उपाध्यक्ष समेत थिए ।
नेपाली कांग्रेसमा १६ वर्षदेखि क्रियाशिल चौधरीलाई थारू समुदायको बलियो नेताका रूपमा लिइन्थ्यो । उनी नेपाली कांग्रेसको क्षेत्रीय सदस्य समेत थिए ।
उनको निधनले टीकापुर र नेपाली कांग्रेसलाई ठूलो क्षति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले बताए ।
चौधरीको निधनको शोकमा बिहीबार कैलालीका निजी तथा संस्थागत शैक्षिक संस्था बन्द रहे । प्याब्सन र एनप्याब्सन कैलालीले चौधरीको निधनको शोकमा बिहीबार कैलाली जिल्लाका निजी, संस्थागत विद्यालय बन्द गर्न आब्हान गरेको प्याब्सनका जिल्ला अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।
बुधबार नै नेपाली कांग्रेसले टीकापुर अस्पतालमा पोष्टमार्टम पछि चौधरीको पार्थिव शरीरलाई पाल्कीमा बसाएर टीकापुरमा नगर परिक्रमा गराइएको थियो । चौधरीको पार्थिक शरीरलाई बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय र चौधरीले सञ्चालन गरेको विद्यालय करुणा बोर्डिङ स्कूलमा समेत राखिएको थियो । त्यसपछि चौधरीको पार्थिव शरीर उनकै निवास भगरैयामा राखिएको थियो ।
दुर्घटनामा घाइतेमध्ये चार जनालाई गम्भीर चोट लागेकोले नेपालगञ्जमा थप उपचार भइरहेको जनाइएको छ भने सामान्य चोटपटक लागेका १२ जना टीकापुर अस्पतालमा उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार