१० श्रावण २०८१, बिहीबार

डिसिए अन्तर विद्यालय क्रिकेट : लिटिल फ्लावर र ऐश्वर्य फाईनलमा



धनगढी । धनगढीमा जारी डिसीए अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा लिटिल फ्लावर र ऐश्वर्य विद्या निकेत फाइनलमा प्रवेश गरेका छन् । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा गत १० गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ ।
लिटिल फ्लावरले ग्ली एकेडेमीलाई ४१ रनले पराजित गरेर फाइनलमा पुग्यो भने ऐश्वर्यmे एक्सिस विद्याश्रमलाई ६ विकेटले हरायो ।
बुधबारको पहिलो सेमीफाइनल खेलमा टस जितेर व्याटिङ गरेको लिटिल फ्लवारले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २७ रन बनायो ।
लिटिल फ्लावरका लागि किशोर सिंहले २५, अनिल थापाले २० तथा भरत सिंहले १४ रन बनाए । लिटिल फ्लावरले ३७ रन अतिरिक्त पाएको थियो ।
बलिङतर्फ ग्ली एकेडेमीका राजु कुँवर र रोहन विष्टले दुई/दुई विकेट लिए ।
एक सय २८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गर्न ओर्लेको ग्ली एकेडेमी ६ विकेट गुमाएर ८६ रनमा सिमित भयो । लिटिल फ्लावरका अनिल थापाले दुई तथा किशोर सिंहले एक विकेट लिए । खेलको म्यान अफ द म्याच लिटिल फ्लावरका किशोर सिंह भए ।
बुधबारको अर्को खेलमा टस जितेर व्याटिङ गरेको एक्सीसले निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा ८३ रन बनायो । एक्सीसका अमृत रावतले २८ तथा शौनक मल्लले १३ रन बनाए ।
बलिङतर्फ ऐश्वर्यका माधव ठगुन्ना र विमल कठायतले दुई/दुई विकेट लिए ।
८४ रनको विजयी लक्ष्य पाएको ऐश्वर्यले १४ औं ओभरमा चार विकेट क्षतिमा लक्ष्य पुरा गर्‍यो । ऐश्वर्यका प्रविन जोशीले १९, उपेन्द्र थापाले १४ तथा सुवास खातीले १३ रन बनाए । खेलका म्यान अफ द म्याच ऐश्वर्यका विमल कठायत भए ।
प्रतियोगिताको फाइनल खेल आज (बिहीबार) हुने जनाइएको छ । प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार