१२ श्रावण २०८१, शनिबार

विप्लव माओवादीका कार्यकर्ता पुन: पक्राउ



धनगढी । कैलाली प्रहरीले मंगलबार धनगढीमा नेकपा माओवादी (विप्लव) का तीन कार्यकर्तालाई पुन: नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीले जनही एक हजार पाँच सय रुपैयाँ धरौटीमा रिहाई गरेको केही बेरमै प्रहरीले पुन: पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रशासनले बालासिंह धामी, गणेश कार्की, जयबहादुर धानुक र राजु दाहाललाई धरौटीमा रिहाई गरेको थियो । धारौटीमा रिहाई भएका मध्ये राजु दाहालबाहेक तीन जनालाई अर्को सार्वजनिक मुद्दामा पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
प्रहरीले गत वैशाखमा निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले धामी, कार्की र धानुकले केही महिना अघि टीकापुरमा जनता भड्काउने काम गरेको भन्दै पुन: पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको उनले बताए ।
यता, विप्लवका कार्यकर्ताले भने प्रहरीले आफूहरूमाथि ज्यादति गरिरहेको आरोप लगाएका छन् । उनीहरूले प्रशासनले धरौटीमा रिहाई गर्ने र प्रहरीले पुन: पक्राउ गर्ने गतिविधि यथाशिघ्र रोक्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार