३१ भाद्र २०८१, सोमबार

‘स्वच्छ निर्वाचन जनताको अधिकार’



धनगढी । स्वच्छ निर्वाचनका लागि जागरुकता बढाउने उद्देश्यका साथ आइतबार धनगढीमा ‘मानव अधिकार र निर्वाचन’ विषयमा अन्तरक्रिया भएको छ ।
अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) को आयोजनामा भएको कार्यक्रममा इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले मतदाता सचेत भएमा निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताए । उनले भने– ‘हरेक नागरिकलाई आफ्नो सहभागिताबाट स्थानीय सरकार गठन गर्नपाउने अधिकार छ ।’
अध्यक्ष प्याकुरेलले ‘जनताले परिवर्तनको अनुभूति गर्न स्थानीय तहमा भयमुक्त वातावरणमा भाग लिन’ पाउनु अनिवार्य भएको चर्चा गरे ।
कार्यक्रममा मानवअधिकार संगठनका अध्यक्ष ईन्द्र अर्यालले जसरी पनि जित्नु पर्छ भन्ने मानसिकताले स्वच्छ र निष्पक्ष निर्वाचनमा अवरोध आउने गरेको चर्चा गरे ।
उनले राजनीतिक दलका नेताकार्यकर्ता संयमित भइदिए मात्रै पनि निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ठूलो योगदान पुग्ने दावी गरे ।
कार्यक्रममा कैलाली वार एसोसिएसनका अध्यक्ष प्रेम चन्द्र, अधिवक्ता जोहारीलाल चौधरी, बारका पूर्व अध्यक्ष गंगाराम पाध्याय, नेपाली कांग्रेसका जिल्ला सदस्य नृप सुनार, फाया नेपालका निर्देशक धर्मराज पाठक, दलित महिला अधिकार मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरे, टेक विके, खड्कराज चौधरीलगायतले मन्तव्य व्यक्त गरेको थिए ।
ईन्सेक क्षेत्रीय संयोजक खड्कराज जोशीले सहजीकरण गरेको कार्यक्रममा गिरीराज ओझाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार