११ श्रावण २०८१, शुक्रबार

चुनावी सरगर्मी बढ्दै



घोडाघोडी । तीन पटक मिति परिवर्तन गरेका कारण आम मतदातामा केही खिन्नता सिर्जना भए पनि गाउँवस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
सरकारले जेठ ३१ गते गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार ९ र त्यसपछि फेरि १४ गते सारेको छ ।
यतिवेला कैलालीका गाउँनगरमा चुनावी प्रचारप्रसारमा राजनीतिक दल तथा उम्मेदवारहरू जुटिरहेका छन् । उम्मेदवारहरू मतदातालाई आफूतिर आकर्षित गर्न एक से एक आश्वासन र नारा तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
अनुमोदन दैनिकले जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा आम मतदातासंग कस्ता उम्मेदवार तथा कार्यक्रमका आधारमा मत दिनुहुन्छ भन्ने प्रश्नमा निरन्तर रूपमा धारणा संकलन गर्दै आएको छ ।
यस क्रममा घोडाघोडी नगरपालिकाका मतदातासंग सोधिएको थियो– ‘तपाईं कस्ता उम्मेदवारलाई मत दिन चाहिराख्नु भएको छ । प्राय:को उत्तर थियो– ‘खाली आश्वासन बाड्ने भन्दा काम गरेर देखाउने उम्मेदवारलाई मत दिन्छौं ।’
घोडाघोडी नगरपालिकामा १२ वटा वडा छन् । एक लाख बढि जनसंख्या रहेको यो नगरपालिकाका धेरै वडाका शाखा सडकको अवस्था दयनीय छ । शिक्षा, स्वास्थ्य, खानेपानी सेवाको कमी छ । सुकुम्बासी समस्या, बाढी, नदी कटानका समस्या भोग्दै आएका छन् । नगरबासीहरू भन्छन्– ‘नगरपालिका घोषणा त भयो, तर हामीलाई अझैं पनि अनुभूति हुन सकेको छैन ।
घोडाघोडी नगरपालिका–२, सिरानगरका कमलप्रसाद तिवारीले चुनाव जीतेपछि जग्गाधनी पुर्जा दिने, बाटोमा कल्भर्ट हाल्ने, पुलपुलेसा बनाइदिने भन्दै राजनीतिक दल तथा उम्मेदवारहरूले भोट मागिरहेको बताए । उनी विगतका निर्वाचनमा पनि प्राय:ले यस्तै आश्वासन बाडेको बताउँछन् । ‘अब चिल्ला कुरा गर्ने, ठुला सपना देखाउने भन्दा पनि काम गरेर देखाउने उम्मेदवार चाहिएका छन्’ उनी भन्छन् ।
घोडाघोडी नगरपालिकाकामा विभिन्न दलबाट मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यका उम्मेदवारहरू यतिवेला घरदैलो अभियानमा व्यस्त छन् । प्रत्येकले विकासका थुप्रै एजेन्डा र कार्यक्रम जनतामाझ प्रस्तुत गरिहेका छन् ।
नेपाली काँग्रसकी रीता चौधरीले आफ्नो पार्टीको मुख्य एजेन्डा समग्र नगरको विकास रहेको बताइन् । उनले थपिन्– ‘यहाँ पर्यटन विकासको ठूलो सम्भावना रहेकोले यसलाई पनि काँग्रेसले मुख्य एजेण्डा बनाएको छ ।’
यस्तै, नेकपा (एमाले)बाट मेयरका उम्मेदवार ममता चौधरीले घरदैलो अभियान जारी रहेको बताए । उनले घोडाघोडी नगरपालिकालाई मिनिसिटी बनाउन सकिने बताए ।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार लक्ष्मण चौधरीले घोडाघोडी नगरपालिकाको समग्र विकासका एजेन्डासहित घरदैलो अभियान जारी राखेको बताए ।
राप्रपाका मेयर पदका उम्मेदवार छोटेलाल चौधरी पनि समग्र नगरको विकासलाई नै प्रमुख एजेन्डा बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार