११ श्रावण २०८१, शुक्रबार

भरतपुरमा ९० मतपत्र च्यातिएको भेटियो



चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मत च्यातिएको पाइएको छ ।
प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, निर्वाचनमा सहभागी भएका राजनीतिक दलका प्रतिनिधीहरुले जेठ १४ गते मध्यराति च्यातिएका मतपत्रहरुको संख्या एकिन गरेको हो ।
माओवादी कार्यकर्ताले मतगणनाका क्रममा मतपत्र च्यातेपछि त्यसलाई शिलबन्दी गरी राखिएको थियो ।
निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको उपस्थितिमा बिहीबार शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘आयोगको निर्देशन अनुसार मतगणनाका क्रममा क्षति भएको मतपत्र एकिन गर्दा ९० रहेको देखियो । अब यहि रिपोर्ट आजै निर्वाचन आयोगसमक्ष पठाउँछु ।’
मतपत्र गन्न मिल्ने र नमिल्ने भन्दा पनि नोक्सान भएका मतपत्र कति छन् भनेर आयोगले सोधेको हुनाले सोही अनुसारको रिपोर्टिङ केन्द्रमा गरिने न्यौपानेले बताए ।
जेठ १४ गते मध्यराति महानगरपालिकाको वडा नम्वर १९ मतगणना जारी रहेको बेला १ हजार ८०९ मत गनिसकेपछि २ हजार ४०० मत गणना गर्ने क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । वडा नम्बर १९ मा २८९७ मत खसेको थियो । त्यसमध्ये १ हजार ८०९ मत गणना भइसकेको थियो । ९० मत च्यातिएको पाइएकोले अब गणना हुन बाँकी ९ सय ९८ मत छ । यस्तै वडा नम्बर २० को ३ हजार ३०२ मत गणना गर्न बाँकी छ ।
च्यातिएका मतपत्र गणना गरी बाहिर निस्कदै गरेका एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले निर्वाचन आयोगले थप मत गणनाका लागि सूचना जारी गर्ने विश्वास ब्यक्त गरे । मतपत्र च्यात्नेहरुलाई नजिर बनाउन आयोग जान नसक्ने ज्ञवालीको ठम्याई छ ।
मतपत्र गणनास्थलमा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल भने अनुपस्थित थिइन् ।
कांग्रेस(माओवादी गठवन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी पार्वती शाहले च्यातिएका ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको जानकारी दिइन् । उनले भनिन् ‘एक मतले पनि हार(जित हुने भएकाले पुनः मतदान गर्नुपर्छ ।’
कडा सुरक्षा व्यवस्थाका बीच आज मात्रै जारी गरेको पास लिएर दलका प्रतिनिधिहरुलाई मतगणनास्थल भित्र प्रवेश दिइएको थियो । बिहानैबाट राजनीतिक दलका प्रतिनधिहरुसँग निर्वाचन आयोगको निर्देशन अनुसार च्यातिएका मतगणना कसरी गर्ने भन्ने बारेमा प्रमुख निर्वाचन अधिकृत न्यौपानले छलफल गरेका थिए । आयोगले बनाएको छानविन टोलीले च्यातिएका मतपत्रको अवस्था नै नबुझी बुधवार आयोगलाई रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतलाई च्यातिएका मतहरुको विवरण एकिन गरी पठाउन निर्देशन दिएको थियो ।

 

आयोगको निर्णय मान्छौंः कांग्रेस
च्यातिएका मतपत्र गणना गरेर फर्किएका कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले निर्वाचन आयोगले गर्ने जुनसुकै निर्णय पनि कांग्रेसले मान्ने बताएका छन् । सभापति श्रेष्ठले कांग्रेसले वडा नम्बर १९ मा पुनः मतदान हुनुपर्ने माग गरेपनि आयोगले गर्ने निर्णयलाई मानेर जाने प्रतिक्रिया दिए ।
‘नेपाली कांग्रेस विधिमा विश्वास गर्दछ,’ सभापति श्रेष्ठले भने, ‘अदालत, अख्तियार र निर्वाचन अयोगले गरेको निर्णयको विरोध गर्दै हिँड्ने पार्टी कांग्रेस होइन ।’
९० वटा मत च्यातिएका हुनाले पुनः मतदान हुनुपर्ने सभापति श्रेष्ठले बताए ।

 

मतगणना हुनुपर्दछः एमाले
नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले मतपत्र च्यात्नेहरुको उद्देश्य गलत र नियोजित देखिएका कारण त्यसलाई प्रोत्साहित हुने गरी पुनः मतदान गर्न नसकिने बताए । ‘मतपत्र च्यात्ने १ लाख धरौटीमा रिहा हुने र फेरि मतदान गर्ने हो भने यो देशमा अराजकताको अन्त्य कहिल्यै हुदैन,’ कानुनविद समेत रहेका एमाले अध्यक्ष पोखरेलले भने, ‘च्यातिएको ९० मतलाई बदर मानि बाँकी रहेको मतगणना हुनुपर्दछ । बदर मतको माया नत एमालेलाई हुन्छ नत अरु दललाई नै ।’
मतदानको प्रकृयामा जाँदा यो प्रकृया अनन्तकालसम्म लम्बिने र यस्ता प्रवृतिहरु अझै मौलाउदै जानसक्ने अध्यक्ष पोखरेलको भनाई छ ।
मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका मधु न्यौपाने र द्रोण शिवाकोटी जनही १/१ लाख धरौटीमा रिहा भएका छन् ।

(अनलाइनखबर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार