३१ भाद्र २०८१, सोमबार

जैविक विविधता अनुगमन तालिम



पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा आइतबार चरा पहिचान तथा जैविक विविधता अनुगमन तालिम भएको छ ।
नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोग र चरा संरक्षण नेटर्वकको आयोजनामा सामुदायिक वनका अध्यक्षहरूका लागि सो तालिम सञ्चालन गरिएको जनाइएको छ ।
घोडाघोडी सिमसार क्षेत्र वरिपरिका २५ वटा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूलाई चरा पहिचान तथा जैविक विविधता अनुगमनमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पंक्षी संरक्षण संघका अध्यक्ष हिरुलाल डंगौराले बताए ।
चरा र उनीहरूको बासस्थानका साथै प्राकृतिक वन सम्पदा संरक्षणमा सामुदायिक बनको महत्त्वपूर्ण भूमिका हुने भएकाले यस्ता तालिमले उनीहरूको दक्षता तथा क्षमता अभिबृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
चरा नेटवर्क सुखडका अध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा भएको तालिमको सेक्टर वन कार्यालय, पहलमानपुरका वन अधिकृत अनिरुद्र ठाकुरले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहायक वन अधिकृत शम्भुप्रसाद सिंह, वसन्ता वन परिषदका अध्यक्ष तथा सामुदायिक वन समन्वय समितिका अध्यक्ष पुष्कल बम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार