१२ श्रावण २०८१, शनिबार

माओवादी केन्द्रबाट नयाँशक्तिमा प्रवेश



धनगढी । नेकपा माओवादी केन्द्रका दश जना केन्द्रीय सदस्य सहित थुप्रै नेताकार्यकर्ता डाक्टर बाबुराम भट्टराई नेतृत्वका नयाँशक्ति पार्टीमा प्रवेश गरेका छन् ।
प्रदेश नम्बर ७ का विभिन्न जिल्लाबाट माओवाली केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरू सहित ठूलो संख्यामा नयाँशक्तिमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी नयाँशक्तिमा प्रवेश गरेका नेताकार्यकर्तालाई स्वागत गरिएको धनगढी नगर संयोजक मीनराज बडूले जानकारी दिए ।
नयाँशक्ति पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रका पोलिटब्युरो सदस्य निर्मल रतोकी (बैतडी) तथा केन्द्रीय सदस्यहरू दीपक साउँद (बैतडी), अमरसिंह रतोकी (कैलाली), रामनाथ योगी (बैतडी), भुवनदेव भट्ट (बैतडी), मनिलाल विक (बैतडी), गोपाल रतोकी (बैतडी), राजेन्द्र बोहरा (दार्चुला), रमेश रैखेला (दार्चुला) र सूर्यप्रकाश भण्डारी (डडेल्धुरा) सहित माओवादी केन्द्रबाट नयाँशक्ति पार्टीमा प्रवेश गरेको जनाएको छ ।
यसैबीच नयाँशक्ति पार्टीले धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवारको घोषणा गरेको छ । सो पार्टीबाट कृष्णानन्द गिरीलाई मेयरको उम्मेदवार बनाइएको नगर संयोजक बडूले बताए । नयाँशक्ति पार्टीले धनगढी उपमहानगरपालिकामा संघीय सद्भावना पार्टीसँग चुनावी तालमेल गर्ने जनाएको छ ।
नयाँ शक्ति पार्टी प्रदेश नम्बर ७ का उत्प्रेरक, पूर्वमन्त्री भीमबहादुर कडायतले उद्घाटन गरेका कार्यक्रम नगर संयोजक बडूको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार