३१ भाद्र २०८१, सोमबार

लम्कीचुहामा चार दलीय प्रतिस्पर्धा



टीकापुर । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकामा चार वटा दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
पहिलो चरण अन्तर्गत पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका एमाले, कांग्रेस र माओवादी नै दावेदार देखिएका छन् । यी तीन ठूला दललाई नेपाल लोकतान्त्रिक फोरमले टक्कर दिने भएको छ ।
फोरमले मेयर र उपमेयर सहित चार वटा बाहेक सबै वडामा उम्मेदवारको टुङ्गो लगाएको छ । फोरमका तर्फबाट मेयरमा अरुण चौधरी र उपमेयरमा धनादेवी चौधरी मैदानमा उत्रिएका छन् ।
फोरमले वडा नम्बर १, २, ३ र ५ मा अध्यक्षको टुङ्गो लगाउन सकेको छैन । उसले अशोक चौधरी (४), कसरत चौधरी (६), हरिराम थारू (७), जगनारायण चौधरी (८), रामप्रसाद चौधरी (९) र हिरासिंह चौधरी (१०) बाट अध्यक्षका प्रत्यासी मैदानमा उतारेको छ ।
चौधरीले अहिलेको अवस्थामा आफ्नो प्रतिस्पर्धा एमालेसँग हुने बताए । उनले कांग्रेसको उम्मेदवार घोषणा भए केही फेरबदल हुनसक्ने संकेत गरे । ‘हामी चुनाव जित्दैछौं’ उनले भने– ‘प्रतिस्पर्धा को सँग हुने कुरा कांग्रेसको निर्णयले तय हुनेछ ।’
लम्कीचुहा नगरपालिकामा ३९ हजार मतदाता छन् । जसमध्ये १३ हजार थारू समुदायका मतदाता रहेका छन् । उनीहरूको एकलौटी मतले फोरमले आफ्नो जित हुने अनुमान गरेको छ ।
तर तीन ठूला दलले भने फोरमलाई प्रतिस्पर्धीका रूपमा समेत आंकलन गरेका छैनन् । उनीहरूले कांग्रेस, एमाले र माओवादी भित्रै प्रतिस्पर्धा हुने बताएका छन् । कांग्रेस र माओवादीले एमालेलाई प्रतिस्पर्धी देखेका छन् भने एमालेले भने कांग्रेससँग प्रतिस्पर्धा हुने अनुमान गरेको छ ।
एमालेले युवा नेता महादेव बजगाईलाई मेयर र टीका थापालाई उपमेयरमा अघि सारेको छ । उसले क्रमश: जनकबहादुर बम, दीपक तिमिल्सैना, पदमबहादुर रावल, लालबहादुर बोगटी, धनवीरे कामी, खन्टे खत्री, जगत चौधरी, पूर्णबहादुर बिष्ट, टेकबहादुर रावल र कृष्णप्रसाद जैशीलाई वडा नम्बर १ देखि १० का अध्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ ।
एमाले नेता धनन्जय न्यौपानेले कांग्रेससँग प्रतिस्पर्धा हुने बताए । उनले एमालेका पक्षमा जनलहर देखिएकाले जित पक्का भएको बताए ।
माओवादी समेत मेयर, उपमेयरका साथै सबै वडाध्यक्षको टुङ्गो लगाएर घरदैलोमा होमिएको छ । मेयर पदका उम्मेदवार दलबहादुर बिष्टले माओवादीका पक्षमा माहौल बढ्दै गैरहेको दावी गरे । उनले एमाले आफ्नो प्रतिस्पर्धी भए पनि जित सुनिश्चित रहेको बताए ।
माओवादीले उपमेयरमा थारू समुदायबाट सुवित्रीकुमारी चौधरीलाई अघि सारेको छ । त्यस्तै गीता गडतौला, नवराज बिष्ट, गणेश पहराई, दानबहादुर रावत, माया बिष्ट, ढकबहादुर विक, मनिकृष्ण न्यौपाने, धिरेन्द्र रावल, रति भूल र मीनराज गौतम क्रमस: १ देखि १० नम्बरसम्मका वडाध्यक्षमा दावेदार हुन ।
मेयर र उपमेयर जस्तो महत्त्वपूर्ण पदमा टुङ्गो लगाउन नसकेको कांग्रेसले सबै वडाध्यक्षका उम्मेदवार चयन गरेको छ । उसले क्रमश: ईश्वरीप्रसाद देवकोटा, विष्णु ढकाल, भक्तबहादुर चलाउने, भागीराम बिष्ट, रनसिंह विक, नेत्र सुनाखरी मगर, कमल ढकाल, लिखराम चौधरी, खुशीराम चौधरी र हर्क कठरियालाई वडाध्यक्षमा अघि सारेको छ ।
कांग्रेसका तर्फबाट मेयरमा क्षेत्रीय सभापति भक्तबहादुर थापा, निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैशी, लवबहादुर शाही र कृष्ण पाण्डेयको नाम चर्चामा रहेको स्रोतले बताएको छ । कांग्रेसले मेयर र उपमेयरको टुङ्गो जेठ १२ गते लगाउने बताइएको छ । कांग्रेसले आफ्नो प्रतिस्पर्धीमा एमालेलाई देखेको छ ।
निर्वाचनमा राप्रपा लगायतका अन्य साना दलहरूले समेत मत काट्न सक्ने भएका कारण कुन दलले जित हासिल गर्न सक्छ भन्ने कुराको अनुमान गर्न गाह्रो भएको कतिपयको भनाई छ । उनीहरू चार दल मध्येबाटै नगरपालिकाको नेतृत्व आउने कुरामा भने ढुक्क छन् ।

(नागरिक दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार