२३ बैशाख २०८१, आईतवार

युवा रेडक्रस गोष्ठी



लम्की । नेपाल जुनियर/युवा रेडक्रस सर्कल कैलालीको ३५ औं जिल्लास्तरीय जुनियर/युवा रेडक्रस गोष्ठी शनिबार लम्की भुरुवामा भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल बालकल्याण माध्यमिक विद्यालयको आतिथ्यतामा गत ५ गतेदेखि शुरु भएको गोष्ठी लम्की भुरुवा घोषणापत्र जारी गर्दै शनिबार समापन भयो ।
रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य हेमराज ओझाको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य उत्तम जोशी रहेका थिए ।
गोष्ठीमा रेडक्रस अभियान, विपद् व्यवस्थापन, प्राथमिक उपचार, स्वास्थ्य सामुदायिक विकास सम्बन्धी प्रशिक्षण दिइएको थियो । त्यस्तै, कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता तथा जुनियर युवा सर्कलको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजनाको समेत प्रस्तुतिकरण गरिएको रेडक्रस सोसाइटी कैलालीका विकास अधिकृत ईश्वर जोशीले बताए ।
नेपाल जुनियर/युवा रेडक्रसका कार्यक्रम तथा गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, रेडक्रसको नीति तथा निर्देशिका एवं संगठनात्मक स्वरूपको साथै सम्पन्न गतिविधिहरूको बारेमा जानकारी गराउने उद्देश्यले हरेक वर्ष कैलाली शाखाको आयोजना तथा विभिन्न विद्यालयको आतिथ्यतामा जिल्लास्तरीय जुनियर/युवा रेडक्रस गोष्ठीको आयोजना गर्ने गरिएको रेडक्रस सोसाइटी कैलालीका मन्त्री लोकराज जोशीले बताए ।
गोष्ठीमा कैलाली जिल्लाका एक सय १५ जुनियर रेडक्रस सर्कलका चार सय ५० जनाको सहभागिता रहेको नेपाल जुनियर रेडक्रस सर्कल, बालकल्याण माध्यमिक विद्यालयका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक रूपलाल जैशीले बताए ।
गोष्ठी समापन कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने समूह तथा विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यसैगरी, कार्यक्रममा सहभागी जुनियर/युवा रेडक्रस सर्कलका छात्रछात्रा र शिक्षक नायकलाई पनि प्रमाणपत्र वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले बताए ।
समापन कार्यक्रममा रेडक्रस सोसाइटीका कैलाली मन्त्री जोशी, शिक्षक नायक वीरबहादुर भण्डारी, नारायण ढुंगाना र मीना कँडेल लगायतले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार