११ श्रावण २०८१, शुक्रबार

बालिगलाई नाबालिग भन्दै रिहा गरेको गुनासो



धनगढी । हत्या अभियोगमा आरोपित एक युवकलाई अदालतले नाबालिग भन्दै कैदमुक्त गरेको एक पीडित महिलाले आरोप लगाएकी छिन् ।
धनगढी उपमहानगरपालिका–१, वसन्तटोलका मथुरादेवी सिंहले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्नो छोराको हत्यारालाई अदालतले नाबालिग भन्दै कैदमुक्त गरेको आरोप लगाइन् ।
२०६८ साल मंसिर २८ गते मथुरादेवीका छोरा सुरेन्द्र सिंहलाई सुवर्ण श्रेष्ठ र उनका छोरा प्रविण श्रेष्ठले मिलेर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सुरेन्द्रको सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर अस्पतालमा लगिएको र उपचारका क्रममा नौ दिनपछि मृत्यु भएको थियो । अस्पतालको रिपोर्टमा सुरेन्द्रको मुटु र पिसाब थैलीमा गम्भीर चोट लागेको उल्लेख रहेको उनले बताइन् ।
‘मेरो छोराको मृत्युपछि अभियुक्तकहरू फरार थिए’ उनले भनिन्– ‘सुवर्ण त अझै पनि फरार छन्, तर अभियुक्त प्रविणलाई गत माघमा प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा बुझाएको थियो ।’
२४ दिन थुनामा रहेका प्रविणलाई अदालतले पुर्पक्षका लागि थुनामा राखे पनि वैशाख १७ गते नाबालिग भन्दै रिहा रहेको उनले बताइन् । मथुरादेवीले अभियुक्त प्रविण बालिग रहेको र अदालतमा नक्कली कागजपत्र पेस गरिएको दाबी गरिन् ।
प्रविणको धनगढी उपमहानगरपालिकाबाट बनाइएको जन्मदर्तामा जन्ममिति २०५३ साल रहेको छ भने विद्यालयको सर्टिफिकेटमा २०५६ को जन्म बनाइएको छ । मथुरादेवीका अनुसार प्रविणले जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू १९ वर्षको भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार