२१ भाद्र २०८१, शुक्रबार

दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुन्छ : प्रधानमन्त्री दाहाल



नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार नवलपरासीको शास्वतधाममा पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय जनता पार्टीसहित सबै राजनीतिक दलको सहभागितामा दोस्रो चरणको निर्वाचन उत्सवमय हुने बताएका हुन् । उनले पहिलो चरणको निर्वाचनलाई आफूले उत्सवको रुपमा लिएको बताए ।
स्थानीय तह दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको छ । गत वैशाख ३१ गतेको निर्वाचनको मत परिणाम आउने जारी छ । पछिल्लो परिणामअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
उद्योगी, व्यवसायी विनोद चौधरी सिर्जनात्मक मान्छे भन्दै प्रधानमन्त्रीले सरकारको तर्फबाट आवश्यक परे सहयोग गर्न तयार रहेको समेत आश्वासन दिए ।
छोरा प्रकाशसहित हेलिकप्टरमा आएका दाहालले शुक्रबार बिहान नवलपरासीको दुम्कौलीस्थित शास्वत धाम पूजाआजा गरे । उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरेको भन्दै आफू प्रभावित भएको बताए ।
शास्वत धाम दुई महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
प्रधानमन्त्री दाहाल कृषि क्याम्पसको भवन उद्घाटन गर्न नवलपरासीबाटै चितवन जाने कार्यक्रम छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार