११ श्रावण २०८१, शुक्रबार

बाघ र चितुवाको छालासहित छ जना पक्राउ



धनगढी । कैलालीमा पाटेबाघ र चितुवाको छाला तथा हड्डीसहित छ जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा एक जना ७० वर्षीय बृद्ध पनि छन् ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, डोटीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राती उनीहरूलाई बाघ तथा चितुवाको छाला तथा हड्डीसहित पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आइतबार राति गोदावरी नगरपालिका वडा नम्बर १२ चौकीगाउँ र घोडाघोडी नगरपालिका वडा नम्बर ७, कीर्तितपुरबाट उनीहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–४ का ७० वर्षीय धर्मराज पौडेल, गोदावरी नगरपालिका–१२ का ५० वर्षीय पूर्णबहादुर ओली, धनगढी उपमहानगरपालिका–१६ का रामबहादुर चौधरी, जोशीपुर गाउँपालिका–५ का रमेश चौधरी, घोडाघोडी नगरपालिका–८ का गगन साउँद र जोशीपुर गाउँपालिका–१ का लोकबहादुर विक रहेको कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले बताए ।
पाटेबाघ र चितुवाको छाला तथा हड्डीसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–१२ चौकीडाँडाबाट ११ फिट लम्बाइ र २ फिट ५ इन्च चौडाइ भएको पाटेबाघको छाला एक थान तथा घोडाघोडी नगरपालिका–७, कीर्तिपुरबाट ५ फिट चौडाइ, १९ इन्च लम्बाइ भएको एक थान, ६ फिट १ इन्च लम्बाइ, १८ इन्च चौडाइ भएको एक थान र ८ फिट २ इन्च लम्बाइ र २० इन्च चौडाइ भएको एक थान गरी तीन थान चितुवाको छाला तथा छ किलो सात सय ग्राम हड्डी बरामद गरिएको छ ।
अभियुक्तहरूले संरक्षित सूचीमा रहेका बन्यजन्तुको छाला र हड्डी ओसारपसार गर्न लागेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन भएको एसपी चन्दले बताए । उनले भने– चितुवाको छालाहरु तीन महिना पहिले नै डोटीको सिमचौर पाङ्सा भन्ने स्थानबाट ल्याइएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

बाघ तथा चितुवाको छाला र हड्डीसहित प्रहरीले उनीहरूले प्रयोग गरेका दुई थान मोटरसाइकल, छ वटा मोवाइल फोन र एक थान सवारी दर्ता किताब बरामद गरेको जनाइएको छ । एसपी चन्दले बरामद गरिएका छाला, हड्डी र अन्य सामानसहित अभियुक्तहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय, कैलालीमा बुझाइएको बताए ।
जिल्ला वन कार्यालय, कैलालीका प्रमुख राजेन्द्र केसीले अभियुक्तहरूलाई बन्यजन्तु चोरीसिकारी ऐन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइएको बताए ।
बन्यजन्तुको चोरी निकासी गर्नेलाई ऐनअनुसार १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्ष जेल अथवा दुवै सजाय हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार