११ श्रावण २०८१, शुक्रबार

जालीबासीको आन्दोलन जारी



धनगढी । पायक पर्ने स्थानमा वडा कार्यालय राख्नुपर्ने मागसहित शुरु गरेको धनगढी उपमहानगरपालिका–६, जालीबासीको आन्दोलन सोमबार पनि जारी रह्यो ।
वडा कार्यालय पायक पर्ने स्थानमा नराखेर अन्यत्र राखेको विरोधमा उनीहरूले आइतबारदेखि आन्दोलन थालेका थिए । आइतबारदेखि उनीहरूले धनगढी उपमहानगरपालिका घेराउ, धर्नासहितका विरोधका काम गरिरहेका छन् ।
जालीबासीले वडा नम्बर ६ मा सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय राख्न र सडकको बीच खण्डमा कालोपत्रे नगरिएकोमा विरोध गरिरहेका छन् । हाल सो वडा कार्यालय ढुंगेबजारमा राखिएको छ । वडा कार्यालय अपायक ठाउँमा राखेको विरोधमा आइतबार उनीहरूले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि आइतबार उपमहानगरपालिकाका कार्यकारी अधिकृत तथा जालीबासीबीच वार्ता भए पनि टुंगोमा पुग्न सकेको थिएन ।
समस्या समाधानका लागि सोमबार पनि दुवै पक्षबीच पुन: वार्ता भए पनि सहमति हुन सकेन । वार्तामा सहभागी स्थानीय अर्जुन महतोका अनुसार उपमहानगरपालिकाका अधिकारीहरूले सो वडा कार्यालय अन्यत्र सार्नेमा सहमति नगरेकोले सोमबारको वार्ता पनि बिना निष्कर्ष टुंगिएको थियो ।
सो वडामा वडा कार्यालय स्थापनाका लागि घर बहालसम्बन्धी सूचना जारी गरिएको थियो । जालीबासीका अनुसार सो सूचनामा उपमहानगरपालिकाको कार्यालयले बासुदेवी उमावि र एनसेल टावर नजिक घर आवश्यक रहेको उल्लेख गरेको थियो ।
तर, सूचनामा उल्लेख नभएको स्थान (ढुंगेबजार) मा वडा कार्यालय स्थापना गरिएकोले आन्दालन गर्नु परेको जालीबासीले बताए ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले वडा कार्यालयका लागि घर बहालबारे सम्झौता भइसकेकोले अन्यत्र सार्न नसकिने बताए ।
उनले एक वर्षका लागि सोही स्थानमा र पछि वासुदेवी उमाविले प्रदान गर्ने जग्गामा कार्यालय राख्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार