१२ श्रावण २०८१, शनिबार

मतदाता भन्छन्– ‘स्थानीय समस्या समाधान गर्नेलाई मत’



कैलारी (कैलाली) । कैलालीको कैलारी गाउँपालिकाका स्थानीयले आफ्नो क्षेत्रको समस्या समाधान गर्ने व्यक्तिलाई मत दिएर विजयी गराउने बताएका छन् । सरकारले प्रदेश नम्बर ७ सहित चार प्रदेशमा जेठ ३१ गते स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि अनुमोदन दैनिकले शनिबार सो क्षेत्रका बासिन्दालाई चुनावका बारेमा गरेको सावलमा अधिकांशले भने– ‘हामी यस क्षेत्रको समस्या समाधान गर्ने राम्रो उम्मेदवारलाई मत दिने छौं ।’
हसुलिया, बसौटी, पवेरा, रतनपुर, गदरिया पुरै वडा र उदासीपुरका केही वडाहरू मिलेर पुन:संरचनामा कैलारी गाउँपालिका बनेको हो । सो क्षेत्रको मुख्य समस्या भनेको नदी कटान हो । बर्सेनि उक्त क्षेत्रका बासिन्दाहरू वर्षाको समयमा त्रसित भएर बस्छन् भने कतिपयको उठिबास हुने गरेको छ । खेती किसानीमै आत्मनिर्भर रहेको उक्त गाउँपालिकामा मोहना, कटैनी, कान्द्रा लगायतका नदीका कारण बर्सेनि डुवानको समस्या झेल्नुपर्ने अवस्था छ भने अन्न उब्जनीमा पनि क्षति व्यहोर्नु पर्ने अवस्था रहेको छ ।
दोस्रो चरणको स्थानीय तहको चुनाव जेठ ३१ गते हुने भएपछि उक्त गाउँपालिका सहित कैलाली जिल्लाभरीनै रौनकता छाएको छ । बर्सेनि सर्वसाधारणलाई झुठा आश्वासन दिने र विजयी भएपछि उक्त वचनहरू झुल्ने गरेको नेताको प्रवृतिलाई ध्यान दिँदै उनीहरूले आश्वासन दिनेलाई होईन् काम गर्ने व्यक्तिलाई मत दिने बताएका हुन् । स्थानीय रेवन्त बोहराले भने, ‘झुटा आश्वासन र मीठो भाषण गर्ने नेताभन्दा यस क्षेत्रको समस्या बुझ््नेलाई मत दिने निर्णय गरेको छु ।’ ‘यहाँको मुख्य समस्या भनेको कटान र डुवान हो’ उनले भने– ‘यसको नियन्त्रणका लागि जसले पहल गरिरहेको छ र पहल गर्ने जस्तो व्यक्ति छ त्यसैलाई मत दिने छु ।’
कैलारी गाउँपालिकाको कटानसँगै सुकुम्बासी व्यवस्थापनको समस्या पनि मुख्य चुनौति रहेको छ । कैलारी गाउँपालिकामा हाल बहुमुखी क्याम्पसको व्यवस्था छैन । कैलाली गाउँपालिकाका क्याम्पस नहुँदा विद्यार्थी उच्च शिक्षा अध्ययनको लागि धनगढी आउन बाँध्य भएको स्थानीय वसन्त चौधरको भनाई छ । उनले कैलारी गाउँपालिकामा क्याम्पसको स्थापना, रोजगारसँगै यहाँको कटान रोक्नको लागि योजना सहित आउने नेतालाई भोट हाल्ने बताए ।
यस्तै, साविकको गदरिया गाविसका भागरथी चौधरीले गदरियामा रहेको मोहना, कटैनी नदिले यस क्षेत्रमा बर्सेनि गर्दै आएको कटानी रोक्ने र सकुम्वासी समस्या समाधान गर्ने व्यक्तिलाई भोट दिने बताइन् । यस्तै, उनले ऐलानी जग्गाको कर तिर्न गरेपनि हालसम्म जग्गा नाममा नभएको बताइन् । उनले हाल बसोबास गर्दै आएको ऐलानी जग्गालाई आफ्नो नाममा बनाई दिने नेतालाई भोट दिने बताइन् ।
स्थानीय बुद्धिजीवी नरेन्द्र सिंहले कटान समस्यासँगै विकासमा भिजन तथा प्राकृतिक स्रोत साधनलाई सदुपयोग गर्ने सक्ने व्यक्तिलाई भोट हाल्ने बताए । उनले पढेलेखेको युवा वर्ग, कार्य क्षमता र बजेटलाई व्यवस्थापन गर्ने सक्ने विकासे लक्ष्य बोकेर आउँने व्यक्तिलाई भोट हाल्नु पर्ने पनि बताए ।
यस्तै, कैलारी गाउँपालिकामा काँग्रेस, एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक नेपालले चुनावी प्रचारप्रसारलाई तीब्र पारेका छन् । नेकपा (एमाले) र माओवादी केन्द्रले उम्मेदवार तय गरे पनि काँग्रेस र फोरम लोकतान्त्रिकले भने तय गरेको छैन् ।
नेकपा (एमाले)बाट अध्यक्षमा उम्मेदवार बनेका रामप्रसाद चौधरी र माओवादीबाट लाजुराम चौधरी अंकितले चुनावी अभियानलाई तीब्र पारेका छन् । घरदैलोदेखि चुनावी अभियान तीब्र रूपमा अघि बढेको नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार रामप्रसाद चौधरीले जानकारी दिए । उनले आफूले चुनाव जितेमा कटानी समस्याको समाधान, वडैपुरबाट हसुलियासम्म सडक कालोपत्रे गर्नेदेखि लिएर क्याम्पस स्थापनाको लागि पहल गर्ने बताए ।
यस्तै, नेकपा माओवादीबाट अध्यक्षमा उम्मेदवार बनेका लाजुराम चौधरी अंकितले नौ वटै वडामा घरदैलोदेखि चुनावी आमसभा सम्पन्न भइसकेको बताए । उनले आफूले चुनाव जितेमा यहाँको कटान समस्या, प्राकृतिक तालहरूको संरक्षणदेखि कैलारी गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए । यस्तै, बहुमूखी क्याम्पसदेखि सुकुम्वासी समस्याको समधान गर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार