१७ बैशाख २०८१, सोमबार

जनचासोको रिपोर्टिङ तालिम समापन



धनगढी । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजना तथा कैलाली शाखाको संयोजनमा यहाँ सञ्चालित ‘जिम्मेवार पत्रकारिता : जनचासोको रिपोर्टिङ तालिम’ शनिबार समापन भएको छ ।
जनसरोकार, जनहित, जनचासो तथा जनस्वार्थका समाचार सामग्रीको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित सो तालिममा सञ्चार गृहको रिपोर्टिङ योजना, एजेण्डा सेटिङ, समाचार सामग्रीको प्राथमिकीकरण, जनचासोका समाचार सामग्री छनोट विधि, जिम्मेवार पत्रकारिताका विविध पक्षबारे गहन छलफल भएको थियो ।
तालिम समापनका अवसरमा कैलालीका जिल्ला न्यायधीस धनसिंह महराले ‘परिचय पत्र पाउँदासाथ पत्रकार भएँ’ भन्ने मानसिकता त्यागेर जनताको चाहना र चासोका विषयमा विश्वसनीय ढंगबाट पत्रकारिता गर्न आग्रह गरे ।
जिल्ला न्यायधीस महराले ऐच्छिक रुपमा अथवा समय विताउने ढंगले पत्रकारिता क्षेत्रमा लाग्ने नभई विषयको गहन अध्ययन, सुक्ष्मदृष्टि, व्यावसायिकताका साथ गरिने रिपोर्टिङ उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज सामाजिक रुपान्तरण र पुनर्संरचनाको चरणमा रहेको सन्दर्भमा मिडियाको भूमिका अझ गहन र जिम्मेवार हुनुपर्ने चर्चा गरे ।
तालिमका प्रशिक्षक समेत रहेका पूर्व अध्यक्ष झाले लोकतान्त्रिकरण र सामाजिक रुपान्तरण प्रक्रियालाई बलियो बनाउन भूमिका निर्वाह गर्न सकिएन भने नेपाली मिडियाको प्रभाव कमजोर हुने बताए ।
महासंघका केन्द्रीय सचिव धर्मेन्द्र कर्णले प्रत्येक तालिम, अभिमुखीकरण वा प्रशिक्षण दिमागलाई सफा पार्ने प्रक्रिया भएको चर्चा गरे ।
उनले सार्वजनिक हितलाई ध्यानमा राखेर गरिने पत्रकारिताले सामाजिक न्याय प्रवद्र्धनमा योगदान पुर्‍याउने बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य भवानी ऐर, पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वार र कर्ण शाह, राष्ट्रिय मानवअधिकार आयोगका महिमा चौधरी, राष्ट्रिय छापा माध्यम सञ्जालका उपाध्यक्ष वीरेन्द्र रावल, बानका केन्द्रीय उपाध्यक्ष गोविन्द रोस्यारा र थारु पत्रकार संघका जिल्ला अध्यक्ष प्रेस चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो । जिल्ला सहसचिव श्रवण देउवाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष हिमाल जोशीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार