१२ श्रावण २०८१, शनिबार

वैदेशिक रोजगारीमा ठगी : ठगिएको रकम फिर्ता



टीकापुर । वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर रकम लिएर सात महिनासम्म आलटाल गर्ने दलालबाट चार जनाले बल्लतल्ल रकम फिर्ता पाएका छन् ।
कैलालीको मुनुवा, मकरीका गणेश आचार्यले सात महिनाअघि वैदेशिक रोजगारमा पठाइदिन्छु भनेर लगेको रकम फिर्ता गरेका छन् । उनीबाट कैलालीकै टीकापुर नगरपालिका–४, ईन्द्रैयाका रामा चौधरीले २५ हजार, कुलवीर चौधरीले ८५ हजार शेषराज चौधरी र जीतबहादुर चौधरीले ९०/९० हजार फिर्ता पाए । रामा र कुलवीरले सो रकम आफैं बुझे भने शेषराजको रकम उनका बुबा धनिराम तथा जीतबहादुरका बुबा बम्बर चौधरीले बुझेका थिए ।
उनीहरूका अनुसार गणेशले उनीहरूलाई दुवई पठाइदिने भनेर रकम र पासपोर्ट लगेको थिए । रकम लिएको धेरै महिनासम्म पनि विदेश पठाउन नसकेको, तर भिसा आइसकेको र टिकट वुक भइसकेको भनेर गणेशले पटकपटक काठमाडौं बोलाउँदै आलटाल गरेपछि अन्त्यमा उनीहरूले रकम फिर्ता मागेका थिए । ‘पटकपटक काठमाडौं बोलाउने, तर आफू सम्पर्कबिहीन रहने, भिसा लाग्दैछ भनेर आलटाल गर्ने क्रम दोहोरिएपछि अन्त्यमा रकम फिर्ता माग्नुपर्‍यो’ रामाले भने– ‘हामीले गणेशलाई दिएको रकम फिर्ता पाउन निकै सास्ती भोग्यौं ।’
गणेशले म्यानपावर कम्पनीसंग मिलेर कामदारलाई वैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका छन् । चिनेजानेका युवाहरूलाई विदेश पठाउने भनेर ठग्न थालेपछि उनका बुबा रामलालले रकम फिर्ता गरेका छन् । रकम फिर्ता गर्दै उनले भने– ‘मैले आफ्नो इज्जत र छरछिमेकको विश्वासलाई कायम राख्न रकम फिर्ता गरेको छु ।’
ती युवाहरूले वैदेशिक रोजगारमा जान ऋण गरेर रकमको जोहो गरेका थिए । जीतबहादुरका बुवा बम्बरले ब्याजवापत वार्षिक चार क्विन्टल गहुँ र १२ क्विन्टल धान दिने शर्तमा एक लाख रुपैयाँ ऋण लिएको बताए ।
वैदेशिक रोजगारमा पठाई दिने भनेर रकम र पासपोर्ट लिने, तर नपठाउने म्यानपावर र तिनका एजेन्टका कारण गाउँमा कैयौं युवा ठगीमा परेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, कैलालीका पूर्व उपाध्यक्ष धनबहादुर बुढामगरका अनुसार यसरी ठगीमा परेका नागरिकलाई न्यायका लागि पहल गर्दा रकम फिर्ता भएको बताए ।
सरकारले लेवर (मजदुर) भिसामा मलेसिया र खाडीका देशमा जाँदा फ्रि भिसा तथा फ्रि टिकटको व्यवस्था गरेको छ । तर, अझैं पनि अधिकांस कामदारले ठूलो रकम खर्च गरेर मात्रै वैदेशिक रोजगारमा जान पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार