५ कार्तिक २०८१, सोमबार

प्रेस स्वतन्त्रता विरुद्धका घटना : अनुगमन तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम



धनगढी । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजना तथा कैलाली शाखाको संयोजनमा बिहीबारदेखि धनगढीमा ‘प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनाको अनुगमन तथा प्रतिवेदन लेखन’ सम्बन्धी तालिम शुरु भएको छ ।
तालिममा महासंघको संयोजनमा गठित फ्रि मिडिया नेटवर्कका सदस्यहरूसमेत २५ जनाको सहभागिता रहेको छ । तालिम सञ्चालनका लागि युरोपियन युनियन र इन्टरनेशनल एलर्टको सहयोग रहेको जनाइएको छ ।
तालिममा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरिरहेका छन् । तालिममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएगरेका प्रयास, संवैधानिक तथा कानूनी व्यवस्था, नेपालको संविधानले प्रेस स्वतन्त्रताको संरक्षणका लागि गरेका व्यवस्था, प्रेस स्वतन्त्रता विरुद्ध हुने घटनाको अनुगमन र प्रतिवेदन लेखन विधि लगायतका विषयमा छलफल भइरहेको छ ।
तालिमका मुख्य प्रशिक्षक समेत रहेका महासंघका पूर्व अध्यक्ष झाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा संवद्र्धनका लागि विश्वव्यापी रूपमा अवलम्बन गरिएका सिद्धान्त तथा अभ्यासबारे चर्चा गरे ।
उनले प्रेस स्वतन्त्रता संरक्षणका प्रमुख आधारभूत तत्त्वहरू, नेपालको संविधान–२०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि गरेका व्यवस्था, सबल र कमजोर पक्ष लगायतका विषयमा जानकारी दिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव धर्मेन्द्र कर्णका अनुसार कैलाली सहित देशका पाँच जिल्लामा यो कार्यक्रम लागू भएको छ । उनले प्रेस स्वतन्त्रताको संरक्षण तथा संवद्र्धनमा सञ्चारकर्मीका साथै अरू सरोकारबालाको भूमिका र सहकार्य बृद्धिका लागि फ्रि मिडिया नेटवर्कको अवधारणा लागू भएको चर्चा गरे ।
सो अवसरमा सहभागीहरूलाई स्वागत गर्दै महासंघ, कैलालीका अध्यक्ष जगत साउँदले सञ्चारकर्मी, अधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोग, स्थानीय प्रशासन, नेपाल बार, नेपाल प्रहरी लगायतका निकायको प्रतिनिधित्व रहेको फ्रि मिडिया नेटवकको क्रियाशीलताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार