४ जेष्ठ २०८१, शुक्रबार

२५६१ औं बुद्ध जयन्ती : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । २५६१ औं बुद्ध जयन्ती बुधबार धुमधामसंग मनाइएको छ । यस क्रममा कैलालीमा बुद्ध जयन्ती समारोह समिति र धर्मोदय सभा तथा लोकचक्र बुद्ध बिहार, धनगढीको आयोजनामा विभिन्न कार्यक्रम भएका छन् ।
बुुद्ध जयन्तीका अवसरमा बुद्ध पूजा, शान्तिपदयात्रा, धर्मदेशना, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । बिहान धनगढीमा शान्ति पदयात्रा निकालिएको थियो । पदयात्रामा विद्यार्थी, शिक्षक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै, प्रसाद वितरण, धर्मदेशना, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रूपमा मनाइने गरिन्छ ।
इसापूर्व ५६३ वर्ष अथवा आजभन्दा २५६१ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको थियो ।
ईसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्धका नामले पुकारिन थालियो ।
चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको थियो । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार