२ जेष्ठ २०८१, बुधबार

काँग्रेसले कसैसंग चुनावी तालमेल नगर्ने



लम्की । नेपाली काँग्रेस कैलाली, क्षेत्र नम्बर २ ले स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रदेखि जिल्लासम्म विभिन्न ठाउँमा तालमेलको चर्चा चलिरहेका बेला नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले अरु कुनै पनि दलसँग तालमेल नगर्ने घोषणा गरेको छ ।
बुधबार कैलालीको लम्कीमा काँग्रेस क्षेत्रीय कमिटी र लम्की चुहा नगरसमितिले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी क्षेत्र नम्बर २ मा रहेका कुनै पनि नगर र गाउँपालिकामा तालमेल नगरी एक्लै प्रतिष्पर्धा गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति भक्तबहादुर थापाले सबै ठाउँमा एकल रुपमा निर्वाचन लड्ने बताए ।
पत्रकार सम्मेलनमा महासमिति सदस्य नेता कमल शाहले काँग्रेस एक्लै निर्वाचन लड्न सक्षम रहेकाले यस क्षेत्रमा कसैसँग तालमेल नगर्ने बताए । उनले केन्द्रिय नेताहरुलाई सचेत र सजग बनाउन र तालमेल नगर्न दबाब दिन यो निर्णय गरिएको बताए ।
शाहले भने सबै ठाउँमा कम्युनिष्टको लाल किल्ला हो भन्ने भ्रम पारिएको छ त्यो चिर्न काँग्रेस एक्लै चुनाव लडेर विजय गरेर देखाउने छ । शाहले यस ठाउामा काँग्रेसको संगठन बलियो भएकाले एक्लै चुनाव जित्न काँग्रेस तयार रहेको समेत बताए ।
काँग्रेस केन्द्रले गरेको निर्णय मान्न आफूहरु तयार रहेको बताउँदै नेता शाहले यहाँको भावना विपरित गरिने निर्णय भने मान्न तयार नरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार