३ जेष्ठ २०८१, बिहीबार

आज बुद्ध जयन्ती



धनगढी । आज बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५५१ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दु:ख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए ।
ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ ।
बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिएका छन् जुन आधुनिक समाजमा अझ सान्दर्भिक बन्दै गएको छ ।
यस्तै दिवसको अवसरमा २५६१ औ वुद्ध जयन्ती समारोह समिति र धर्मोदय सभा तथा लोकचक्र बुद्ध विहार धनगढीले आज बिहानैदेखि साँझसम्म विभिन्न कार्यक्रम गर्न लागेको छ । विगतका वर्षझै यस वर्षपनि उनीहरुले विहान बुद्ध पुजा गर्ने, शान्ति पद यात्रा, प्रसाद वितरण, साझ धर्मदेशना, सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार