२१ बैशाख २०८१, शुक्रबार

रुस्लान अत्तरिया महिला क्रिकेट शुरु : उद्घाटन खेलमा एपिएफ विजयी



धनगढी ।  कैलालीको अत्तरियामा बिहीबारदेखि रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
युनाइटेड अत्तरिया स्पोर्ट्स क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न छ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ । एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई सात विकेटले पराजित गर्‍यो ।
अत्तरियास्थित एपिएफ खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा चार विकेट क्षतिमा ९३ रन बनायो ।
मिलन क्रिकेट एकेडेमीका सरस्वती चौधरी (२१) र मेन्सी चौधरी (१९) बीच पाँचौ विकेटका लागि भएको ४३ रनको अविजित साझेदारी भएको थियो ।
त्यस्तै, रितु जैनले १९ र कप्तान रुविना क्षेत्रीले १४ रन बनाए । एपिएफका करुणा भण्डारी मात्रै एक विकेट लिन सफल भइन् । बाँकी तीन खेलाडी रनआउट भए ।
प्रतिउत्तरमा एपिएफले ३१ बल बाँकी छँदै तीन विकेट क्षतिमा विजय लक्ष्य पूरा गर्‍यो । एपिएफका ज्योति पाण्डेयको अर्धशतक (५३ रन अविजित) टोलीको सहज जीतको आधार बन्यो । करुणा भण्डारीले अविजित १८ रन बनाइन् । करुणा र ज्योतिले चौथो विकेटका लागि ६६ रनको अविजित साझेदारी गरेका थिए । खेलको म्यान अफ द म्याच एपिएफकी ज्योति बनिन् ।
प्रतियोगिताको आज (शुक्रबार) राइजिङ क्रिकेट वुमन काठमाडौं र कैलाली जिल्ला क्रिकेट एकेडेमीबीच तथा एपिएफ र कञ्चनपुर–११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनमा करिब २५ लाख रुपैयाँ खर्च आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्लेयर अफ द सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेट किपरलाई दश/दश १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । भने हरेक खेलको प्लेयर अफ द म्याचले तीन हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार