२१ बैशाख २०८१, शुक्रबार

विद्यार्थी संगठनद्वारा पुन: तालाबन्दी



धनगढी । संयूक्त विद्यार्थी संगठनले कैलालीमा जिल्ला शिक्षा अधिकारीको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका छन् ।
गत सोमबार जिल्ला शिक्षा कार्यालय र विद्यार्थी संगठनहरूबीच शैक्षिक समस्या समाधानका लागि भएको सहमती तीन दिनभित्र कार्यान्वयन नगरिएकोले पुन: तालाबन्दी गर्नुपरेको बताएका छन् ।
जिल्ला शिक्षा कार्यालय र विद्यार्थी संगठनहरूबीच शैक्षिक शुल्क निर्धारण नभएसम्म पुरानै शुल्क लागू गर्ने र शुल्क निर्धारण गर्दा सबैको सहमती हुनुपर्ने निर्णय भएको बताइन्छ ।
तर, जिल्ला शिक्षा कार्यालय र निजी तथा आवसिय विद्यालयहरूको संगठनबीच जथाभावी शुल्क निर्धारण गरिएको नेपाल विद्यार्थी संगठनका नेता सुमन केसीले बताए । ‘शुल्क निर्धारण गर्दा विद्यार्थी र अभिभावकहरुको पनि उपस्थिती रहनुपर्ने थियो’ केसीले भने– ‘हामीलाई यो शुल्क मान्य छैन ।’
शुल्क निर्धारण समितिले बुधबार गाउँपालिका र नगरपालिकामा प्राथमिक तहका बढिमा एक हजार दुई सय, निम्न माध्यमिक तहसम्म बढिमा एक हजार छ सय र माध्यमिक तह सम्म बढिमा एक हजार नौ सय निर्धारण गरेको थियो भने उपमहानगरपालिकाका विद्यालयका लागि प्राथमिक तहका बढिमा एक हजार चार सय ५०, निम्न माध्यमिक तहसम्म बढिमा एक हजार नौ सय ५० सय र माध्यमिक तहसम्म बढिमा दुई हजार चार सय निर्धारण गरेको थियो । विद्यार्थी संगठनहरूले यो शुल्क बृद्धिले अभिभावकलाई मार गरेको भन्दै खारेज गर्न माग गरेका हुन् ।
विद्यार्थी संगठनहरूले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गत सोमबार कक्षा १ मा भर्ना भएका विद्यार्थी कक्षा दुईमा जाँदा भर्ना शुल्क लिन नपाउने, कक्षा कोठामा संस्थागत विद्यालयहरूले पनि शिक्षा नियमावली बमोजिम शिक्षक विद्यार्थी अनुपात कायम गर्न लगाउने, १० प्रतिशत छात्रवृति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, तीन वर्षभित्र प्रकाशन गृह परिवर्तन गर्न नपाउने, संस्थागत विद्यालयका शिक्षक कर्मचारीको नियूक्ति र सेवा सुविधा शिक्षा नियमावली अनुसार तोकी कार्यान्वयन गर्नुपर्ने, विद्यालयको आय–व्याय वार्षिक रूपमा अभिभावक र जिल्ला शिक्षा कार्यालयमा पठाउने निर्णय लगायतको सहमती भएको थियो तर, कार्यान्वयन नभएकोले उनीहरूले अनिश्चितकाल सम्मका लागि जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा र जिल्ला शिक्षा कार्यालयको लेखा शाखामा तालाबन्दी गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार